arin enterprises

ड्रमको तालसँगै नेपाल–जापान सांस्कृतिक संगम

SamacharDesk – बिराज | २०८२ चैत्र ७, शनिबार

काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानिज्–नेवारी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बोर्डले काठमाडौंको भृकुटीमण्डपस्थित आफ्नै सभाहलमा “हार्मोनी अफ ड्रम्सः जापानिज्–नेवारी सांस्कृतिक संगीत फ्युजन २०२६” सम्पन्न गरेको हो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा यस कार्यक्रमको आयोजना गरिएको थियो ।

पर्यटन बोर्ड र जापानको वल्र्ड यू एकेडेमी (हिरोज क्लब) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दुवै देशका कलाकार तथा सांस्कृतिक दूतहरूले परम्परागत धुन र कलात्मक अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हिरोज् क्लबका कलाकारहरूको रोमाञ्चक ड्रम प्रस्तुति गरेका थिए । नेपाल सांस्कृतिक संस्थानका कलाकारहरूले धिमे बाजा तथा नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस्ता सांस्कृतिक पहलहरूले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

यसले पर्यटन र सांस्कृतिक आदान–प्रदानमार्फत अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने नेपालको प्रतिबद्धतालाई पनि थप सुदृढ बनाएको उनले उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डले यस्ता पहलमार्फत नेपालको सांस्कृतिक सम्पदालाई विश्वमाझ प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।

Categorized in समाज