देय् दबूलाई पत्रकार दबूबाट स्वागत
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ बैशाख १४, सोमबार
नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत गरेको छ ।
नेवाः पत्रकारहरुको छाता संगठन पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी देय् दबूका नवनिर्वाचित कार्य समितिलाई स्वागत गरेको हो ।
कार्यक्रममा रश्मिला प्रजापति नेतृत्वको ४५ सदस्यीय कार्यसमिति मध्ये काठमाडौंमा उपलब्ध पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई स्वागतसँगै दुई संस्थाबीच संस्थागत रूपमा अन्तरक्रिया पनि गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले नेवार समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षण र प्रवर्ध्दनका साझा एजेन्डामा सहकार्य गर्न सकिनेमा जोड दिएका थिए ।
साथै, पत्रकारहरूको पेशागत संस्था स्वतन्त्र र स्वायत्त हुनुपर्ने भएकाले कुनै पनि संस्थाको भ्रातृ संगठनको रूपमा आबद्ध नहुने स्पष्ट पारिएको थियो ।
हाल देय् दबू नेपालभर विभिन्न शाखामार्फत क्रियाशील रहेको छ । संस्थाले केन्द्रीय कार्यसमिति, ८ प्रदेश समिति तथा ६० भन्दा बढी जिल्ला, पालिका र वडा तहका संरचना निर्माण गरिसकेको छ ।
Categorized in समाज




