arin enterprises

‘नीजि संचारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक’

SamacharDesk – बिराज | २०८३ बैशाख २६, शनिबार

प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय सांसद शाक्यले वर्तमान समयमा संचारमाध्यमहरु त्यत्तिकै नै जटिल अवस्थाबाट गुज्रिरहेकोमा सरकारको पछिल्लो निर्णयले नीजि संचारमाध्यमलाई घाँटी निमोठ्ने काम भएको विचार राखे ।

नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को १३औं वार्षिकोत्सव कार्यक्रममा सांसद शाक्यले यस्तो भनेको हुन् ।

‘जनताको आवाज बोल्ने संचारमाध्यमलाई संरक्षण गर्नुपर्नेमा सरकारले झन उल्टो दिइएको सुविधा कटौती गर्नु खेदजनक छ । मैले यस सम्वन्धमा नीजि संचारमाध्यमसँगै मातृभाषी संचारमाध्यमको पक्षमा संसदमा आवाज उठाउनेछु’ शाक्यले भने ।

अर्को प्रसङ्गमा शाक्यले विना कुनै विकल्प, सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने धारणा राखे ।

सोही कार्यक्रममा बोल्दै नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापतिले हुकुमावासीको नाम दिएर सबैलाई एउटै नजरले हेरिन नहुने बताए ।

सडक विस्तार, खोला मापदण्ड, फास्ट ट्राएक लगायत विभिन्न मापदण्ड र सरकारी योजना, आयोजनाले रैथानेहरुलाई पनि सडकमा पुर्याई सुकुम्वासीको अवस्था बनाइदिएको अध्यक्ष प्रजापतिले बताए ।

‘नक्कली ‘सुकुम्वासीलाई हटाउनै पर्ने हो तर, वास्तविक सुकुम्वासीहरुलाई सरकारले व्यवस्थापन गर्नैपर्छ । विना विकल्प जबरजस्ती डोजर चलाएर सबैको उठीबास लगाइदिनु राज्यको बरबरता नै हो’ प्रजापतिको भनाई हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले आफ्ना कुरा राखेका थिए ।

कार्यक्रममा २० हजार राशीसहितको लहना धर्ममोति पत्रकारिता पुरस्कार वर्ष ११४५ का लागि एपिवानकर्मी राजु नापितलाई र ११४६ का लागि खबरसेन्टर अनलाइनका उत्तमकुमार श्रेष्ठलाई प्रदान गरियो ।

यसैगरी १० हजार राशीसहितको लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार ११४५ का लागि ईमेजकर्मी केके मानन्धरलाई र ११४६ काल लागि नेपाल टेलिभिजनकर्मी शकुन्तला महर्जनलाई प्रदान गरियो ।

लहना शर्मिष्ठा सुर सम्मान ११४५ बाट वरिष्ठ निर्देशक पवन जोशी र ११४६ का लागिं कलाकार आराध्यालक्ष्मी खड्गी सम्मानित भए ।

यस वर्षबाट लहनाले स्वर्गीय पत्रकारद्वय सुशील बीरसिं कंसाकार र सुरेशकिरण मानन्धरको नामबाट पनि पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ ।

लहना सुशीलबीर सिंह पत्रकारिता पुरस्कार ११४६ नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी रु. २० हजार रहेको छ ।

त्यस्तै रु. २५ हजार राशीसहितको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट वरिष्ठ कार्टुनिष्ट रविन साय्मि सम्मानित भए ।

सोही कार्यक्रममा रविन्द्रराज ताम्रकारबाट लिखित नेपालभाषाको पुस्तक संस्कृति, समाज व व्यवसाय’ को विमोचन पनि गरिएको थियो ।

साथै लहना मिडियाले नेपाः टिभिमा संचालन गर्न लागेको चार वटा कार्यक्रमको पनि घोषणा गरिएको थियो ।

लहना मिडिया र कन्फराक्टीभ मिडियाले संयुक्र रुपमा आयोजना गर्न लागेको लहनाएक्टीभ म्यूजिक भिडियो अवार्डको घोषणा पनि सोही कार्यक्रममा गरिएको थियो ।

लहना साप्ताहिकका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले विभिन्न बाधा अडचनलाई छिचोल्दै लहना अघि बढिरहेको र भविष्यमा पनि समयसापेक्ष सामग्रीहरुसहित निरन्तर अघि बढिरहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विभिन्न गायक, गायिका र कलाकारहरुबाट गीत प्रस्तुतिको साथमा नृत्य र वाद्यवादन प्रस्तुति पनि दिइएको थियो ।

Categorized in समाज