सगरमाथा दिवसमा हिमाल संरक्षणको चिन्ता
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ १५, शुक्रबार
हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्नेमा जोड दिइएको छ ।
७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै यस्तो जोड दिएका हुन् ।
शुक्रबार सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताए ।
‘सगरमाथा विजयी हुने चिज होइन । यो एउटा अनुभूति हो । सम्भवतः सबैको भाग्यमा त्यो अनुभूति लेखिएको हुँदैन’ मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै त्यसको असर पृथ्वीका तटीय क्षेत्रदेखि मानव जीवनसम्म पर्ने चेतावनी दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तनको तीव्र असर हिमाली क्षेत्रमा देखिन थालेकाले हिमाल जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जेन शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ पर्यटन ऐन निजी क्षेत्रमैत्री हुनुपर्ने बताए ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यस वर्षको वसन्त आरोहण सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा विदेशी आरोही तथा नेपाली शेर्पा गाइड गरी सात जनाले ज्यान गुमाएको जानकारी दिए ।
साथै केही नेपाली तथा विदेशी आरोही स्वदेश तथा विदेशमा उपचाररत रहेको समेत जानकारी गराए ।
कार्यक्रममा सगरमाथा आरोहण, खोज तथा उद्धार, अध्ययन–अनुसन्धान र पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
यसअन्तर्गत ३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पालाई ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’, हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई ‘तेन्जिङ–हिलारी खोज तथा उद्धार पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यस्तै तेन्जिङ डेभिड शेर्पालाई ‘तेन्जिङ–हिलारी कीर्तिमानी आरोही पुरस्कार’ तथा पूर्णिमा श्रेष्ठलाई ‘पेमा डोमा महिला आरोही पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यसैगरी, नेपाली हिमाली क्षेत्रको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्याएको भन्दै भूगोलविद् प्रा.डा. विशालनाथ उप्रेतीलाई ‘तेन्जिङ–हिलारी अध्ययन तथा अनुसन्धान पुरस्कार’ प्रदान गरिएको थियो ।
कार्यक्रमको आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागले संयुक्त रुपमा गरेका थिए ।
यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस ’सगरमाथा पहिचान र गौरव’ नारासहित मनाइएको थियो ।
Categorized in समाज




