चलचित्रकर्मीलाई समुदायसँग जोड्न ‘टोलटोलमा फिल्म महोत्सव’
SamacharDesk – विजयरत्न | २०८३ जेठ २७, बुधबार
चलचत्रिकर्मीलाई स्थानीय जन समुदायसँग प्रत्यक्ष रुपमा जोड्ने उद्देश्यसहित ‘टोलटोलमा फिल्म महोत्सव’ हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्नका लागि भन्दै यो कार्यक्रम संचालन गर्न लागेको हो ।
कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक साथै फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले फिल्ममार्फत शिक्षा, सूचना, सन्देश तथा जानकारीको संवाहक र रचनात्मक उद्योगको विकास गर्ने क्षेत्रका रुपमा परिचित गराउने समय आएको बताए ।
समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न महानगरपालिकाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आवद्ध गैर नाफामूलक संघसंस्थाहरु, युथ क्लव, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
महानगरपालिकाले उपलब्ध गराएको सर्त, सीमा तथा बन्देज, मिति र स्थानमा, महानगरपालिकाले नै उपलब्ध गराएका फिल्म र प्राविधिक साधन तथा उपकरणको प्रयोग गरेर निःशुल्क फिल्म प्रदर्शन गर्नुपर्नेछ ।
यसरी फिल्म देखाइने स्थानहरु परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथियटर, पार्क जस्ता खुला स्थान हुनेछन् ।
यस प्रयोजनका लागि महानगरपालिकाले खुला प्रस्ताव आव्हान गरेको छ । जेठ २७ गते राति १२ बजे अगाडि इच्छुकले महानगरपालिकाको वेभ साइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन् ।
Categorized in स्थानीय




