arin enterprises

२४ वडाबाट २५ विशिष्ट व्यक्तित्व सम्मानित

SamacharDesk – बिराज | २०८३ आषाढ १६, मंगलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २४ ले वडाभित्रका २५ जना विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ ।

गत शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरेर वडाले शिक्षा, स्वास्थ्य, खेलकुद, प्रशासन, कुटनीति, खेलकुद, सामाजिक सेवा सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका बोल्दै कामपा २४ वडाका वडाध्यक्ष विनोदकुमार राजभण्डारीले समाजको प्रेरणाका रुपमा विशिष्ट व्यक्तित्त्वहरुलाई सम्मान प्रदान गरिएको बताए ।

‘अघिल्लो पुस्ताको त्याग र समर्पणले समाजलाई पथ प्रदर्शकको रुपमा अघि बढाएको छ । यहि त्याग र समर्पणले युवा पुस्तालाई शिक्षा र प्रेरणा प्रदान गरुन् भनेर यो सम्मान प्रदान गरिएको हो’ वडाध्यक्ष राजभण्डारीले भने ।

वडाबाट सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुमा राज्य प्रशासन र सचिवालय सेवामा योगदान गर्ने पशुपतिभक्त महर्जन रहेका छन् ।

सार्वजनिक सेवाबाट भुवनेश कुमार प्रधान, उद्योग व्यवसाय र संस्थागत नेतृत्वबाट योगदान गर्ने रविभक्त श्रेष्ठ, अर्थशास्त्री कमल चित्रकार, जनरल अर्थोपेडिक्स डा. दीपक मान सिंह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. बलराम श्रेष्ठ पनि सम्मानित भए ।

सम्मानित हुने व्यक्तित्त्वमा स्थानीय शासनमार्फत योगदान गर्ने इन्द्रमान सिंह सुवाल, विद्युत इञ्जिनियर दिल्लीराज शाक्य, युवा नेतृत्वका प्रवर्धक राजेन्द्र राम श्रेष्ठ, खेलकुद र सामाजिक क्षेत्रबाट शरद कृष्ण श्रेष्ठ पनि रहेका छन् ।

रंगमञ्च कलाकारिताबाट नरेन्द्र कंसाकार, पारालिम्पिकमा तेक्वान्दो विधाबाट कास्य पदक विजेता पलेशा गोवर्धन, वुद्धिचाल खेलाडी बद्रीलाल नेपाली, मिस्टर महानगरको दोस्रो संस्करणका विजेता सगेन्द्र सिंहलाई पनि सम्मानित गरिएको थियो ।

कराँते प्रशिक्षक छोरी डंगोल, बक्सिङ् खेलाडी प्रवीण तुलाधर, एथलेटिक्स खेलाडी रमेश शाक्य, मुवा थाई बक्सिङ प्रशिक्षक तथा खेलाडी राजेश महर्जन, टेनिस खेलाडी नविता श्रेष्ठ, टेवलटेनिस खेलाडी राकेश महर्जनलाई पनि सम्मान प्रदान गरिएको थियो ।

संगीत तथा नेपाल भाषाको चलचित्रका प्रवर्धक गोपाल कृष्ण महर्जन, संगीत साधक संगीता शाक्य, महिला क्रिकेटर नीरा राजोपाध्याय, कूटनीतिक सेवाका केदारभक्त श्रेष्ठ, कुटनीति र अर्थनीति क्षेत्रका डा. दुर्गेशमान सिंह पनि वडाबाट सम्मानित भएका छन् ।

Categorized in स्थानीय