arin enterprises

काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा

SamacharDesk – बिराज | २०८३ आषाढ २०, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका हुन् ।

समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गरिन् भने अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरे ।

सोही समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताइन् ।

‘बाल मृत्यृदर घटाउन, व्यक्तिमा हुन सक्ने अपाङ्गता घटाउन खोप प्रभावकारी माध्यम हो । हरेक बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन हरेक अभिभावकहरुलाई दायित्व निर्वाह गर्न अनुरोध गर्दछु’ डंगोलले भनिन् ।

२०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको थियो ।

सर्वेक्षणबाट शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि खोप सुनिश्चित भएको जानकारी स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. ले गराए ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागरप्रसाद घिमिरेले खोपकै कारण मानव सभ्यतालाई पोलियो शून्य बनाउन सकिएको र खोपकै कारण मानिसलाई मृत्युको मुखबाट जोगाउन सकिएको विचार राखे ।

काठमाडौँलाई पहिलो पटक २०७४ साल पुस महिनामा पूर्ण खोप घोषणा गरिएको हो । खोपको दिगोपनालाई कायम राख्न यसपटक खोप सुनिश्चित घोषणा गरिएको हो ।

Categorized in स्थानीय