arin enterprises

खेल हारेपनि सबैको मन जितेको केप भर्डे

SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८३ आषाढ २०, शनिबार

फिफा विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आज निकै प्रतिस्पर्धात्क खेलमा केप भर्डेलाई हराएको त छ, तर खेलमा गोलको हिसाबले खेल हारेको केप भर्डेले भने धेरैैको मन जितेको छ ।

शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा नवप्रवेशी केप भर्डेलाई अर्जेन्टिनाले ३–२ ले पराजित गर्यो ।

खेलमा हार व्यहोरेको केप भर्डेले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीलाई जुन खालको टक्कर दियो, अर्जेन्टिनी प्रशंसकसम्मले पनि त्यसको प्रशंसा नगरी बस्न सकेनन् ।

धेरैले सामाजिक संजालमा लेखेका छन्, ‘यसपालि विश्वकप जसले जितेपनि मन केप भर्डेले जितेको छ ।’

खेलमा केप भर्डेले अर्जेन्टिनालाई निर्धारित ९० मिनेटको समयसम्म त १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । खेलको २९औं मिनेटमा अर्जेन्टिनी कप्तान मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

तर खेलको सेकेन्ड हाफमा आएर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

केप भर्डेले डिफेन्डिङ च्याम्पियनलाई हम्मे हम्मे पारेको खेलको अतिरिक्त समयको ९२औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाउन सफल त भए ।

केप भर्डेका सिड्नी काब्रालले अर्जेन्टिनाको त्यो अग्रतालाई ११ मिनेट मात्र टिक्न दियो । १०३औँ मिनेटमा काब्रालले गोल फर्काउँदै टोलीलाई २–२ खेलमा पुनरागमन गराए ।

१११औं मिनेटमा अर्जेन्टिनाले त्यो गोल त पायो, जसले टिमलाई विजयी बनायो । तर त्यो गोल पनि अर्जेन्टिनी खेलाडीबाट भएको थिएन ।

खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसको आत्मघाती गोल गर्दा अर्जेन्टिनाले विजयी गोल बोनसको रुपमा पायो र अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

खेलको अन्तिम अन्तिम तिर केप भर्डे केही सम्हालिन नसक्दा खेल गुमाउनु पर्यो ।

आत्मघाती गोल नभए अर्जेन्टिनाबाट अर्को गोल हुन्थ्यो वा हुन्नथ्यो, अथवा बराबरी भए टाइब्रेकरमा कसले जित्ला त्यो काल्पनिक कुरा भयो । तर डिफेन्डिङ च्याम्पियन टीमको अगाडी नवप्रवेशी टिमको प्रदर्शन दमदार रहेको कुरा नकार्न सकिन्न ।

नवप्रवेशी टिम केप भर्डेको अर्जेन्टिनासँगको हारलाई सम्मानजनक हारको रुपमा लिन सकिन्छ ।

अब अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स