विभिन्न स्रष्टा र सर्जकलाई मिलाप सम्मान
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २१, शुक्रबार
काठमाडौं । यस वर्षको ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ महाकाव्यकार खेमनाथ दाहाललाई प्रदान गरिएको छ ।
गायक, संगीतकार कन्हैया सिंह परियार र स्वर माधुरी अञ्जना गुरुङले स्थापना गरेको उक्त पुरस्कार दाहाललाई अर्पण गरिएको हो ।
मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, ‘टीका–गोपाल’ फाउण्डेशनकी अध्यक्ष गीता सिंह, संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई पुरस्कार प्रदान गरेका थिए ।
मिलाप मासिकबाट काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दाहाल लगायत विभिन्न स्रष्टा र सर्जकहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, कला, साहित्य, पत्रकारिता, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा सक्रिय रही उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरु पनि कार्यक्रममा ‘मिलाप विशेष योगदान सम्मान’बाट सम्मानित भएका थिए ।
उक्त सम्मानबाट डा.मोहनलाल घिसिङ, सीतारम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू लगायत सम्मानित भएका थिए ।
साथै, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई पनि ‘मिलाप विशेष योगदान सम्मान’ प्रदान गरिएको थियो ।
समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विशेषरूपमा सम्मान गरिएको थियो ।
‘मिलाप कभर सम्मान’ प्राप्त गर्नेहरूमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा रहेका थिए ।
त्यसैगरी देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेललाई पनि मिलाप कभर सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले नेपाली कला क्षेत्रको विकास र संरक्षणमा स्रष्टाहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँहरूको योगदानको सम्मान गर्ने कार्य प्रशंसनीय भएको बताइन् ।
सम्मानित व्यक्तित्त्व महाकाव्यकार दाहालले आफू सम्मानित हुन पाउँदा गौरवान्वित भएको भन्दै यहलोक र परलोकको प्रसंग सुनाए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी र ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’का सल्लाहकार एवं संगीतकार सन्तोष श्रेष्ठले आआफ्ना विचार राखेका थिए ।
कार्यक्रममा मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले मिलाप मासिकबाट हुँदै आएका कार्यक्रम, गतिविधिको बारे प्रकाश पार्दै नेपाली कला, श्रृजना क्षेत्रमा कलाकर्मी र स्रष्टाको सम्मानमा आफुहरु लागिरहने बताइन् ।
मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा र साधकहरूको योगदानको सम्मान गर्नु नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको महत्त्वपूर्ण आधार भएको बताए ।
१७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलापले विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता भुसालले व्यक्त गरे ।
कार्यक्रममा बालकलाकार काब्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् ।
Categorized in पेजथ्री




