कस्तो बन्यो क्वाटरफाइनल समीकरण
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २१, बिहिबार

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ ।
मंगलबार राती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो ।
क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८ वजे उरुग्वे र फ्रान्सको खेल हुनेछ भने दोश्रो क्वाटरफाइनल खेलमा राती पौने १२ बजे ब्राजिल र बेल्जियम आमने सामने हुनेछन् ।
यी दुइ खेलका विजेता सेमीफाइनलमा भिड्नेछन् ।
क्वाटरफाइनलको तेश्रो खेल शनिवार वेलुकी पौने ८ वजे स्विडेन र इङ्गल्याण्ड बीच र अन्तिम क्वाटरफाइनल खेल राती पौने १२ वजे रुस र क्रोएसिया बीच हुनेछ ।
यी दुई खेलका विजेतासेमीफाईनलमा आमने सामने हुनेछन् ।
विश्वकपमा उरुग्वेको ईतिहास हेर्ने हो भने सन् १९३०मा पहिलो विश्वकपको आयोजक राष्ट्र पनि उरुग्वे नै हो भने उसैले विश्वकप पनि जितेको थियो । त्यो बेला उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोलले हराएको थियो । सन् १९५० मा पनि आयोजक राष्ट्र ब्राजिललाई हराउँदै उरुग्वेले विश्वकप जितिसकेको छ ।
फ्रान्सले अहिलेसम्ममा एकपटक विश्वकप उचालिसकेको छ । सन् १९९८मा आफ्नै देशमा विश्वकपको आयोजना हुँदा फ्रान्सले साविक विजेता ब्राजिललाई ३–०ले स्तब्ध पार्दै फ्रान्सले विश्वकप जितेको थियो ।
अहिलेसम्म सबभन्दा बढि विश्वकप जित्ने राष्ट्र ब्राजिल हो । फुटबल सम्राट भनिने पेलेको देश ब्राजिलले पाँचपटक विश्वकप जितिसकेको छ । सन् १९५८, सन् १९६२ लगातार दुइ वर्ष विश्वकप जितेको ब्राजिल फेरी सन् १९७०मा पनि विश्व विजेता बन्न सफल भयो । त्यसपछि भने बल्ल २४ वर्षपछि सन् १९९४मा अमेरीकाले आयोजना गर्दा विश्वकप जित्न सफल भयो भने सन् २००२ मा जापान र दक्षिण कोरीयाले संयुक्त रुपमा आयोजना गर्दा पनि ब्राजिलले विश्वकप जितेको थियो ।
बेल्जियमले अहिलेसम्म एकपटक पनि विश्वकप जित्नुको त कुरै छोडौं, फाइनलसम्म पनि यात्रा तय गर्न सकेको छैन । फुटबलमा यो पुस्तालाई बेल्जियमको स्वर्णिम पुस्ता मानिएको छ । फिफा वरियताक्रममा ब्राजिल र बेल्जियम जर्मनी पछि क्रमशः दुइ र तीन नम्बरमा रहेको छ । त्यसैले पनि ब्राजिल र बेल्जियमबीचको खेललाई विश्वले उत्सुक नजरले कुरीरहेको छ ।
स्वीडेनले पनि विश्वकपमा अहिलेसम्म फाइनल खेलमा जित दर्ता गर्न पाएको छैन । सन् १९५८ मा स्वीडेनले आफैंले विश्वकपको आयोजना गर्दा फाइनलमा ब्राजिलसँग हार व्यहोर्नुपरेको थियो । स्वीडेनले फाइनलसम्म यात्रा गरेको पनि यहि एकपटक मात्रै हो ।
इङल्यान्डले अहिलेसम्म सन् १९६६ मा आफ्नै देशमा विश्वकपको आयोजना हुँदा एकपटक मात्रै विश्वकप जित्न सफल भएको छ । बलियो टिम मानिएको भएपनि इङल्यान्डले पनि अहिलेसम्म यो एकपटक बाहेक फाइनल पुग्न सकेको छैन ।
सन् १९९०सम्म क्रोएशिया युगोस्लोभाकियाको भाग थियो । सन् १९९१ स्वतन्त्र भएपछि क्रोएशिया अहिलेसम्म पाँचपटक विश्वकपमा देखापरेको छ । सन् १९९८, २००२, २००६, २०१४ र यो वर्षसमेत गरी पाँच पटक विश्वकप खेलिसकेको क्रोएशिया सन् १९९८मा सेमिफाइनलसम्म पुगेको थियो । त्यो बेला सेमिफाइनलमा क्रोएशिया आयोजक फ्रान्ससँग हारेको थियो ।
रसिया त यसपालिको आयोजक राष्ट्र हो । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि रसियाले अहिलेसम्म ३ पटक विश्वकपमा खेलिसकेको छ । सन् १९९४, सन् २००२ र २०१४ मा विश्वकप फुटबल खेलेको रसियाले यसपालि आफैले खेलको आयोजना गरेको छ । सोभियत संघ हुँदा सेमिफाइनलसम्मको यात्रा गरीसकेको टिम सन् १९९४ पछि भने समूह चरणबाट उक्लिन सकेको थिएन ।
Categorized in स्पाेर्ट्स