arin enterprises

वडाध्यक्षकै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ श्रावण ३०, सोमबार

ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो ।

भेल्पा मन्दिर परिसर संरक्षित क्षेत्र हो । संरक्षित क्षेत्रको रुख कटान गर्न पालिकासँगको समन्वयमा जिल्ला वन कार्यालयबाट स्विकृती लिनु पर्ने हुन्छ ।

रुख कटानसम्बन्धी विषयमा ललितपुर महानगरपालिकाको कार्यपालिकाले १५ वडाका वडाध्यक्ष सुरेश शाहीसँग असाढ १९ गते पत्र संख्या १३२००–०७८/०७९ मार्फत स्पष्टिकरण सोधिसकेको छ । स्पष्टिकरणमा वडाध्यक्ष शाहीले सो जग्गा सार्वजनीक नभइ निजी रहेको स्पष्टिकरण दिएका छन् ।

रुख कटान गरिएको जग्गा रहेको स्थान कित्ता नम्बर ५/श ७२ को १ रोपनी १ आना जग्गा मालपोत कार्यालयमा नेपाल सरकारको नाममा दर्ता रहेको छ । उक्त क्षेत्रमा तत्कालिन जिल्ला वन अधिकृतलगायतको टोलीले वृक्षारोपण गरेको थियो ।

ललितपुर जिल्ला वन कार्यालयले समेत उक्त रुख कटानसम्बन्धी विषयलाई लिएर वडाध्यक्ष शाहीसँग सूचना माग गरेको र वडाध्यक्ष शाहीले उक्त जग्गा व्यक्तिगत भएको सूचना दिएको ललितपुर जिल्ला वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिए ।

रुख चाहिए घरमा रोप्नु, मन्दिर क्षेत्रमा भोज गर्न मिल्ने फल्चा निमार्ण गर्ने हो भन्दै वडाध्यक्ष शाहीले स्थानीयहरुलाई धम्काएको भेल्पा मन्दिर परिसरका केही स्थानियहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

भेल्पा मन्दिर परिसरमा भर्याङ्गमा मार्बल राख्नका लागि यस अघिका वडाध्यक्षको कार्यकालमा बजेट बिनियोजन गरिएको थियो । उक्त बजेटलाई हालका वडाध्यक्षले फल्चा निमार्ण गर्ने भन्दै बजेटको उद्देश्य परिवर्तन गरेका थिए । तर वडाध्यक्ष शाहीले रुख कटानमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।

हाल आएर यो रहस्यमय विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि पुगेको छ ।

Categorized in स्थानीय