arin enterprises

भैँसी, राँगाको गफ गरेर पाँच वर्षमा गोबर मात्र पाउँछ : अध्यक्ष लामिछाने

SamacharDesk | २०८० जेठ २५, बिहिबार

प्रतिनिधिसभाको बैठकमा यतिबेला बजेटमाथिको छलफल जारी छ । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आ–आफ्ना धारणा राखिरहेका छन् ।

सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् । चालू संसदमा बजेटबारे छलफल भइरहेका बेला विगत केही दिनदेखि प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र भ्रमणपश्चात प्राप्त भैंसीका बारे चर्चा परिचर्चा निकै भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी माग्नुभएको छ ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताउनु भयो । उहाँले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताउनु भयो ।

सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्दै बहस बजेट केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गर्नुभयो । उहाँले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गर्नुभयो ।

उहाँले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गर्नुभयो ।

उहाँले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्नुभयो ।

त्यसैगरी उहाँले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उहाँले बताउनु भयो ।

Categorized in राजनीति