arin enterprises

कामपा प्रमुख पदमा राजीबको उम्मेदवारी घोषणा

SamacharDesk – बिराज | २०८३ कार्तिक १, शनिबार

हाल देशैभरी दशैंको माहौल छाएको छ ।

पूजा, खानपान आदिमा घरको लागि आवश्यक सामग्री साथै नयाँ लुगाफाटा आदि किनमेल गर्नेको घुइँचो पनि बजारमै उत्तिकै देखिएको छ भने अध्ययन, रोजगारी आदिको लागि घरबाट टाढा बसिरहेकाहरु घर जाने तरखरमा देखिन्छन् ।

दशैंको यस्तो माहौलका बीच स्थानीय निर्वाचन नजिकिँदै गरेको अवस्था पनि छ ।

यसै क्रममा काठमाडौं उपत्यकाको मूर्त अमूर्त सम्पदा संरक्षण लगायतका विभिन्न अभियानमा संलग्न रहँदै आएका अभियानकर्मी राजीव श्रेष्ठले आउँदो स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दशैंको छैठौं दिन राति सामाजिक संजालमा स्टाटस अपडेट गर्दै आफुले काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काठमाण्डौं महानगरपालिका वडा नं २५, ध्वाखाःबहालका श्रेष्ठले काठमाडौं महानगर प्रमुख पदमा उम्मेदवारी घोषण गर्दै आफुलाई जाँच गर्न महागरपालिकासँग सम्वन्धित प्रश्न राख्न समेत सम्पूर्णमा आग्रह गरेका छन् ।

सामाजिक संजालमा श्रेष्ठले लेखेका छन्, ‘धेरै वर्षदेखि समाज सेवामा समर्पित भईआएको छु । मेरो यो सोच अनुसार काठमाण्डौं महानगरपालिकाको नगरप्रमुख पदमा उपयुुक्त उम्मेदवार हो होईन भन्ने सवालमा मलाई जाँच गर्ने हिसाबले यस महानगरपालिकासँग सम्बन्धित हाल भईरहेको कुनै पनि नितिगत तथा प्रशासनिक समस्यामा जोडिएर मलाई प्रश्न गरिदिनुहोस् ।’

को हुन् राजीब श्रेष्ठ

रोजगारीको हिसाबले बैंकिङ क्षेत्रमा आवद्ध श्रेष्ठ लामो समय अघिबाटै काठमाडौं उपत्यका भित्रका मूर्त अमूर्त सम्पदा संरक्षण लगायत विभिन्न अभियानमा संलग्न रहँदै आएका छन् । हिति अभियानमा उनी सक्रिय छन् ।

स्वच्छ जागरुक युवा समाजका सचिव समेत रहेका अभियानकर्मी श्रेष्ठ लकडाउनका समयमा अव्यवस्थित फुटपाथ पसल हटाउने अभियानमा सक्रियपूर्वक लागेका थिए ।

नेपाल ब्लड डोनर्स अर्गनाइजेसन, ब्लड डोनर्स सोसाइटी नेपाल, त्रि.वि. ब्लड ट्रान्सफ्यूजन एन्ड रिसर्च सेन्टरमा पनि आवद्ध उनले आवश्यक परेका व्यक्तिहरुलाई रगत उपलब्ध गराउन सक्रियता साथ लागिरहेका छन् ।

निरन्तर रक्तदान कार्यक्रमहरु गर्नुका साथै रक्तदानका लागि अभिप्रेरणा जगाउने कार्यक्रमहरु पनि उनले गर्दै आएका छन् । रक्तदान क्षेत्रमा सचेतना जगाउन सामाजिक संजालमा आफ्नो नाम नै आफ्नो ब्लड ग्रुपबाट राजीब श्रेष्ठ ए पोजिटिभ राखेका छन् ।

सामाजिक अभियानको सक्रियताको कदर स्वरुप श्रेष्ठलाई इन्टरनेशनल वर्ल्ड रेकर्ड्सले इन्टरनेशनल आइकन अवार्ड २०२५ बाट पुरस्कृत गरिसकेको छ ।

सामाजिक क्षेत्रमा दिएको योगदानकै लागि भनेर श्रेष्ठलाई २०२४ मा वर्ल्ड बुक अफ स्टार रेकर्ड्सले साउथ एशियन रिजिनल कन्ट्रिज ब्रिलियन्स अवार्डबाट पनि सम्मान गरेको छ । 

Categorized in स्थानीय