पाँच नेपालीको अस्तुधातु हस्तान्तरण
SamacharDesk | २०८१ श्रावण २४, बिहिबार

युक्रेन तथा रुसबीच भएको युद्धमा मारिएका पाँच नेपाली नागरिकको अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
उनीहरुको अस्तुधातु रुसमै दाहसंस्कार गरी हस्तान्तरण गरिएको हो । मृत्यु हुनेहरु देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको मृत शरीरलाई उनीहरुकै परिवारहरुको सहमति लिई रुसमै दाहसंस्कार गरी बुधबार हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भइसकेको छ । त्यस्तै रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिक मध्ये सम्पर्क मै नरहेका एक सय १८ जना रहेको छ ।
त्यस्तै घाइते वा अन्य कारणले फिर्ता गराईदिन अनुरोध गरिएकाको सङ्ख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ ।
हालसम्म स्वदेश फर्किएकाको सङ्ख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको सङ्ख्या २२ र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको सङ्ख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।
रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (वर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् ।
Categorized in राष्ट्रिय