गायिका बस्यालको ‘यो मन’ सार्वजनिक
SamacharDesk – बिराज | २०८२ बैशाख १५, सोमबार

गायिका पवित्रा बस्यालको गीत ‘यो मन भन्छ’ सार्वजनिक भएको छ ।
गायिका बस्यालको उक्त गीतको म्यूजिक भिडियो अडियो नेपाल युट्युब च्यानलमार्फत आज (सोमबार) सार्वजनिक भएको हो ।
आफ्नो पहिलो गीत सार्वजनिक भइरहँदा आफु निकै उत्साहित र खुसी रहेको बस्यालले बताइन् ।
‘पहिलो गीत रिलिज हुँदा खुसी हुने त भइहाल्यो । दर्शक, श्रोताले गीत सुनिदिनु हुन, हेरिदिनु हुनको साथै सल्लाह सुझावको लागि पनि अनुरोध गर्छु’ बस्यालले भनिन् ।
यो गीतको लागि विशेष गरी वरिष्ठ संगीतकर्मी बुद्ध सायमीप्रति आफु कृतज्ञ रहेको पनि उनले बताइन् ।
गायिका बस्यालबाटै रचित र संगीतबद्ध गीतमा वरिष्ठ संगीतकर्मी बुद्ध सायमीले संगीत संयोजन गरेका छन् । साथमा म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन पनि सायमीले नै गरेका छन् ।
आफुले दिनहुँ सञ्चालन गर्दै आएको ‘म गीत गाउन सक्छु’ कार्यक्रममा गाउन आएकी पवित्रामा राम्रो प्रतिभा देखेर आफुले यो गीत बनाइदिएको सायमीले जानकारी दिए ।
‘मलाई पैसा कमाउनु भन्दा राम्रो प्रतिभाहरु अगाडी आओस् भन्ने लाग्छ । पवित्रा बहिनीले ‘म गीत गाउन सक्छु’ मा गाएको सुन्दा राम्रो लाग्यो र मैले स्टुडियोमा बोलाएर यो गीत र भिडियाे बनाइदिएँ’ सायमीले भने ।
वरिष्ठ संगीतकर्मी सायमीले सामाजिक संजाल टिकटकमार्फत दिनहुँ बेलुकी ७ः३० बजेको समयमा ‘म गीत गाउन सक्छु’ कार्यक्रम संचालन गर्दै आएका छन् । यस कार्यक्रममा देखिएका धेरै राम्रा गायन प्रतिभालाई आफुले गीत बनाइदिइसकेको सायमीले बताए ।
‘मलाई म्यूजिक, अरेंज, रेकर्डिङ, छायाङ्कन व भिडियो एडिटिङ कुनैको लागि पनि पारिश्रमिक चाहिँदैन । राम्रो प्रतिभाले अगाडी आउन मौका पायो, यो सबैभन्दा ठुलो पारिश्रमिक हो मेरो लागि’ सायमी दङ्ग पर्दै भन्छन् ।
आज सार्वजनिक भएको गीतको म्यूजिक भिडियोमा गायिका बस्यालले आफैं अभिनय पनि गरेकी छन् । आफ्नो दोश्रो गीत आउँदो सोमबार सार्वजनिक हुन लागेको गायिका बस्यालले जानकारी दिइन् ।
Categorized in पेजथ्री