ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २, सोमबार

२५६६औं बुद्ध जयन्तीको अवसरमा ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न भएको छ ।
ललितपुरको बहाःबहिहरुबाट हरेक वर्ष वैसाख पूर्णिमा (बुद्ध जयन्ती) को दिनमा गरिँदै आएको शोभा यात्रा आज सम्पन्न भएको हो । यस बर्ष ललितपुर महापालको सुरश्चन्द्र महाविहार (न्हाय्कंबहि) बाट शोभा यात्रा सुरु गरिएको थियो ।
बुद्ध जयन्ती मूल समारोहको पालो लिएको बिहारबाट यात्रा सुरु गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार पालोवाला न्हाय्कंबहिबाट सुरु भएको शोभा यात्राले ललितपुरको सायाः रुटको परिक्रमा गरेको थियो ।
न्हायकंबहिलबाट इखालखु हुँदै जेनबहाः, पूर्णचण्डी, पिम्बहाल, नकबहिल, क्वालखु, झटापोल, बगलामुखी, क्वबहाल, स्वथ, मंगलबजार, हौगः, सुन्धारा, ओकुबहाल, थपाःहिती, चक्रबहिल, तिच्छुगल्ली, हुँदै न्हाय्कंबहिलमै पुगेर यात्रा सम्पन्न भएको हो ।
ललितपुर लगायत विभिन्न ठाउँबाट पुगेका बौद्धमार्गीहरु धाः बाजालगायत विभिन्न झाँकीसहित नामसंगती पाठको साथमा ज्ञानमाला भजन गाउँदै नगर परिक्रमामा सहभागी भएका थिए ।
२५६६ औं बुद्ध जयन्तीलाई उत्सवको रुप दिन बुद्ध जयन्ती मूल समारोह समितिले ९ दिनसम्मै विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । गत बैसाख २४ गतेबाट विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।
यस क्रममा साइकल र्याली, रक्तदान, स्वास्थ्य शिविर, नामसंगीति पाठ, धर्म देशना, भजन, प्रज्ञापारमिता पूजा, भिक्षाटन, ज्ञानमाला भजन लगायतका कार्यक्रमहरु गरिएको थियो ।
आज अर्को वर्षको पालोवाला विहारलाई पालो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । आज साँझ अर्को वर्षको बुद्ध जयन्ती समारोहको पालो मयूरवर्ण महाविहार भिंछेबहाललाई दिइनेछ ।
बुद्ध जयन्तीको दिन निकालिने यस यात्रालाई चलाउन ललितपुरका बहालबहिलहरुले क्रमै अनुसार पालो लिने गर्दछन् । तर पालो चलाउन बहाःबहिहरुलाई अनिवार्य भने नभएको २५६६ औं बुद्ध जयन्ती मूल समारोह समितिका सदस्य राजु शाक्यले बताए ।
कारणवश कसैले पालो नचलाएमा ओकुबहालु, नागबहालले पालो चलाउने चलन छ । सुरश्चन्द्र महाविहार (न्हाय्कंबहि) ले यस अघि ५० बर्ष पहिले पालो चलाएको शाक्यले जानकारी दिए । बद्ध जयन्तीको दिन शोभायात्रा गरिने बुद्धको प्रतिमा अरु समयमा हिरण्यवर्ण महाविहारमा राख्ने गरिन्छ ।
पालोवालाले एकदिन अघि हिरण्यवर्ण महाविहारबाट प्रतिमा ल्याउने गरिन्छ भने भोलिपल्ट बिहानै हिरण्यवर्ण महाविहारमै फिर्ता लगिन्छ ।
फोटो ग्यालरी : ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा : फोटो फिचर
Categorized in संस्कृति