arin enterprises

महिलामा रहेकाे पाककलालाई व्यावसायिकरण गर्न सुझाव

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०८१ माघ २, बुधबार

महिलाहरुमा रहेको सीप र उद्यमशीलता समाजको विकासको लागि अपरिहार्य आवश्यकता भएकोमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जोड दिएकी छन् ।

काठमाडौंमा सम्पन्न एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महिलामा विद्यमान पाक कलालाई नै उद्यम बनाई अर्थतन्त्रलाई मजबुद बनाउन सकिने विचार राखिन् । दरबार हाइ स्कूलमा सम्पन्न फुट सेफ्टी बुट क्याम्प उपप्रमखु डंगोलले यस्तो बताएकि हुन् ।

‘मां पुचः, भौमचा पुचः, म्ह्याय्–मचा पुचःका महिलाहरु खाना बनाउने सिपमा गुरु नै हुनुहुन्छ । स्वच्छता, गुणस्तरीयता र मूल्यका बारेमा ज्ञान दिन सकियो भने उहाँहरुको सिप व्यवसायिक बन्न थाल्छ र यसबाट समाजको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्नेछ’ डंगोलको भनाई हो ।

रैथाने खानाका उत्पादकहरुलाई प्रदान गरिएको क्षमता विकास तालिममा ५०५ जना महिलाहरुको सहभागीता रहेको थियो । खाद्य स्वच्छताका लागि दिइएका क्षेत्रगत तालिममध्ये यो पाँचौँ संस्करणको तालिम हो ।

तालिममा बिबिसी मास्टर सेफ सन्तोष शाहको समेत उपस्थिती रहेको थियो । मास्टर शेफ शाहले बजारमा सामान किन्न जाँदा उत्पादन मिति, उपभोग्य मिति र मूल्यका विषयमा प्रश्न गर्न सकेमा खाद्य स्वच्छतामा महत्वपूर्ण उपलब्धी हासिल हुने विचार राखे ।

स्थानीय खानाका परिकारहरुको बजारीकरण गर्न सकेमा व्यापारिक सम्भावना भएको क्षेत्रको रुपमा विकास गर्न सकिने सुझाव राखे ।

महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले यस संस्करणमा खाद्य पदार्थमा भएको पौष्टिकता जोगाउने तरिकासँगै व्यवसायिकता सिप प्रदान गरेको बताइन् ।

तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्ध्दनन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्ध्दन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गतको हो । स्वच्छ खाना: उत्कृष्ट व्यापार (सेफर फुड: वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।

यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो ।

दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि तालिम आयोजना गरिएको थियो ।

खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश गर्ने गरिएको छ ।

प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रममा समावेश छ ।

सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण गरिएको थियो ।

तालिमसँगै परम्परागत खाद्य मेलाको आयोजना गरिएको थियो । मेलालाई परम्परागत वाद्यबादनले अझ उत्साहित बनाएको थियो । मेलामा काठमाडौँका मेलामा परम्परागत परिकार समयबजि, यःमरिलगायत मौलिक स्वादका खानाका परिकारको साथमा धादिंगको कान्छी किचनको खाद्य परिकारका स्टलहरु राखिएका थिए । 

Categorized in स्थानीय