दुर्घटनाग्रस्त अवस्थामा विमान भेटियो
SamacharDesk | २०७९ जेठ १६, सोमबार

पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा हिजो बिहानदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा आज भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मानापाथी हिमालको फेदीमा विमान दूर्घटना भएको हो ।
हिजो बिहान ९ बजेर ५५ मिनेट जाँदा जोमसोमतर्फ लागेको विमान जोमसोम विमानस्थलको टावरसँगको सम्पर्क विच्छेद भएपछि आज विहानसम्म पनि अज्ञात नै थियो । बिहान १० बजेर ७ मिनेटमा अन्तिमपटक विमानल् टावरसँगको सम्पर्क गरेको बताईएको छ ।
यार्सा टिप्न गएका स्थानीय वासिन्दाले आज विहान दूर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । गाउँदेखि निकै माथिको चट्टानी पहाडमा विमान ठोक्किएर दूघर्टना भएको देखिएको छ ।
विमान दूर्घटना भएको स्थान चार हजार मिटरको उचाइमा रहेको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरेपछि हेलिकप्टरबा दूर्घटना स्थल पुगेको नेपाली सेना र शेर्पा उद्धारकर्मीको टोलीले अहिले घटना स्थलमा शव संकलन गरिरहेका छन् ।
अहिलेसम्म १२ वटा शव संकलन गरिएको सेनाले जनाएको छ । संकलन गरिएका शव हेलिकप्टरबाट सीधै काठमाडौं ल्याउने तयारी पनि सेनाले गरेको छ ।
घटनास्थल पुगेका स्थानीयले विमान टुक्रा टुक्रा बनेको र शव पनि छरपस्ट रहेको बताएका छन् । कुहिरोले छोपेको अग्लो पहाडमा विमान ठोक्किएर दूर्घटना भएको अनुमान उनीहरुको छ । हिजो विहान पोखराबाट जोमसोमतर्फ गएको विमान उडेका केही मिनेटपछि सम्पर्क विहिन भएको थियो ।
हिजो दिनभर खोजी गर्दा पनि विमान फेला परेको थिएन । आज पनि विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालय उद्धारकर्ताहरुको टोली विमान खोजीमा परिचालन गरिएको थियो ।
विमानमा १३ नेपाली, चार भारतीय, २ जर्मन नागरिक यात्रु थिए भने तीन जना चालक दलसहित २२ जना रहेका थिए । विमानको क्याप्टेन प्रभाकर घिमिरे हुनुहुन्थ्यो भन््े को–पाइलट उत्सव पोखरेल र परिचारिका किस्मी थापा थिए ।
Categorized in राष्ट्रिय