निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं विस्थापित
SamacharDesk | २०८० जेठ २४, बुधबार

रुसी सेनाले दक्षिणी युक्रेनस्थित विशाल निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं मानिस विस्थापित भएका छन् ।
रुसको नियन्त्रणमा रहेको निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोट भइ भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न हुँदा हजारौं मानिस विस्थापित भएका हुन् ।
यो घटना पछि त्यहाँका बासिन्दालाई हतार हतारमा सुरक्षित स्थानतर्फ सारिएको छ । युक्रेनी आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले एक हजार मानिसलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र अझै करिब ४० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सार्नपर्ने आवश्यक रहेको बताएका छन् ।
रुसी आक्रमणका कारण सो बाँध फुटेको आरोप युक्रेनले लगाउँदा रुसले भने आरोप अस्वीकार गरेको छ । रुसले युक्रेनी सेनाको बमबारीबाट बाँध क्षतिग्रस्त भएको दाबी गरेको छ ।
बाँध भत्कने बित्तिकै युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले यसबाट हुने क्षति न्युनिकरणका लागि राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएका थिए । यस घटनालाई उनले युद्ध अपराधको संज्ञा दिएका छन् ।
रुसको नियन्त्रणमा रहेको क्राइमियाका जनताको पिउने पानी तथा सिंचाईको मुख्य आधार नै यही बाँध रहेको थियो ।
साथै यही बाँधको पानी युक्रेनको जापोरोजियामा रहेको आणविक उर्जा केन्द्रलाई चिस्यान गर्न प्रयोग हुँदै आएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय