कर फर्छ्यौट आयोग भ्रष्टाचारमा ३ पदाधिकारी दोषी ठहर
SamacharDesk | २०८० जेठ १९, शुक्रबार

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा तत्कालिन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको हालसम्मकै ठूलो विगो भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर फर्छ्यौट आयोगका सबै ३ जना पदाधिकारीलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्यसचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन ।
३ वर्षभन्दा बढी कैद निर्धारण हुने अवस्था भएमा छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाका कारण विशेष अदालतले सजायका लागि छुट्टै सुनुवाइको मिति तोकेको हो ।
उनीहरुमाथि कम्तीमा पनि तीन वर्ष कैद सजाय हुने निश्चित भएको छ । विशेष अदालतले सहसचिव शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ ।
Categorized in अपराध