पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ बैशाख ९, बुधबार
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–२ बस्ने काठमाडौं महानगरपालिका–१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमि नगरपालिका–२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका–२ की ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।
बिनिताले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिएको देखिएको प्रहरीले बताएको छ । त्यस्तै बेनुले जर्मनी पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रूपैयाँ लिएको बताइएको छ ।
पीडितबाट रकम लिइसकेर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिनितालाई कीर्तिपुर नगरपालिका–२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
Categorized in अपराध




