arin enterprises

वडास्तरीय फुटसल प्रतियोगीता सुरु

SamacharDesk – बिराज | २०८३ जेठ ११, सोमबार

काठमाडौँ । स्व. मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटवल प्रतियोगिता आइतवारबाट सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नंं १६ बाट आयोजित प्रतियोगीताको उद्घाटन सत्रमा वडास्तरीय खेलकुदमा महानगरपालिकाको प्रयास, वडाको विकास र स्व. रिजालको व्यक्तित्व माथि चर्चा भएको थियो ।

खेलको उद्घाटन सत्रमा वडा १६ का अध्यक्ष रोजिना श्रेष्ठले, यस प्रकारका प्रतियोगिताहरुलाई वडाले निरन्तरता दिने बताइन् ।

‘राजनीतिक भन्दा सामाजिक छवि बलियो हुनु स्वर्गीय मुकुन्द रिजालको सबैभन्दा सवल पक्ष थियो । वडाको समृद्धिका लागि उहाँका सपना पूरा गर्दै जानेछौँ’ वडाध्यक्ष श्रेष्ठले भनिन् ।

वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले खेलले वडाहरुका विचको सम्बन्ध जोडिँदै जाने बताए ।

स्वर्गीय रिजालकी धर्मपत्नी कविता आचार्य रिजालले स्व. रिजालको स्मृतिमा वडाले फुटवल प्रतियोगिता आयोजना सुरु गरेको दिनलाई गर्विलो दिनका रुपमा लिएको भनाई राखिन् ।

लैनचौर ग्राउण्डमा भएको प्रतियोगितामा कामपा वडा नं. २, ३, ५, ९, १०, ११, १३, १४, १६, १९, २३, २५ र २६ गरी १३ वटा टीमको सहभागीता छ ।

उद्घाटन खेल वडा नं. १० र आयोजक वडा बिच भएको थियो । यस खेलमा आयोजक टीमले २–० ले पहिलो जित हासिल गरेको छ । दोस्रो खेल वडा ५ र १९ का बिचमा भएको थियो । यो खेलमा ३–० गोल अन्तरले वडा नं. ५ ले जितेको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट काठमाडौँ महानगरपालिकाको वडा १६ का लागि अध्यक्ष पदमा  निर्वाचित रिजालको २०८० भदौ २१ गते निधन भएको थियो ।

Categorized in स्पाेर्ट्स