सप्ताहव्यापी रुपमा विश्व रक्तदाता दिवस मनाईँदै
SamacharDesk – विनोद तुलाधर | २०८० जेठ २५, बिहिबार

यस वर्षको विश्व रक्तदाता दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) मा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।
यसै सन्दर्भमा ब्लोदान ललितपुर शाखाले ललितपुरमा बुधबार रक्तदान सम्बन्धि जनचेतना र्याली सम्पन्न गरिसकेको छ । त्यस्तै विहिबार ब्लोदान काठमाडौं जिल्ला र पूर्वी भेगीय क्षेत्रले काठमाडौंको कोटेश्वरमा जनचेतना र्याली गरेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार परोपकार प्रशुती गृह तथा स्त्रीरोग अस्पतालले अस्पताल परिसर थापाथलीमा स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती विषयक कार्यक्रम आयोजना गर्दैछ ।
शनिबार ब्लोदान मध्य क्षेत्र र जोशी समाजले बसन्तपुरमा रक्तदान कार्यक्रम गर्दैछ भने सहयोगी महिला जागरण मञ्चले मैतीदेवीमा रक्तदान कार्यक्रम गर्दैछ । दुवै रक्तदान कार्यक्रम बिहान १० बजेबाट सुरु हुने बताइएको छ ।
त्यसैगरी, शनिबारकै दिनमा ब्लोदान मध्य क्षेत्रले साइकल र्याली कार्यक्रमको आयोजना गर्दैछ । र्याली चःमति चोकबाट बिहान ७ बजे सुरु हुनेछ ।
जेठ २८ गते आइतबार तारकेश्वरस्थित रोजमेरी आइडल बोर्डिङ स्कूलले उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगीताको आयोजना गर्दैछ ।
सोमबार ब्लोदान भक्तपुर शाखाले भक्तपुरमा स्वयमसेवी रक्तदानः महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
मंगलबारका दिन भक्तपुर मोडर्न इङ्गलिस स्कूलले भक्तपुरमा उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगीता गर्दैछ भने तारकेश्वरमा रोजमेरी स्कूलले रक्तदान कार्यक्रम गर्नेछ ।
कार्यक्रम क्रममा अन्तिम दिन जेठ ३१ गते बुधबार काठमाडौंमा ब्लोदानले सम्मान एवम् पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको औपचारिक समापन गर्नेछ ।
हरेक वर्ष जुन १४ का दिनमा रक्तदान सम्वन्धि विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दै विश्वभरी विश्व रक्तदाता दिवस मनाउने गरिएको छ ।
Categorized in समाज
