arin enterprises

कामपामा कम उमेरका मेयर र उपमेयर

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ जेठ १३, शुक्रबार

काठमाडौ महानगरपालिकाले अहिलेसम्मकै कान्छो मेयर र कान्छी उपमेयर पाएको छ । काठमाडौं महानगर प्रमुखमा निर्वाचित ३२ वर्षीय बालेन्द्र साह महानगरका अहिलेसम्मकै कान्छो मेयर बनेका छन् ।

सत्तारुढ गठबन्धन सबै दलको मतबाट पनि नेपाली काँग्रेसकि उम्मेदवार सिर्जना श्रेष्ठ बालेनभन्दा २३ हजार ४२६ को भारी मतान्तरले पछाडी रहन बाध्य भइन् ।

गठबन्धन दलको भन्दा दोब्बर मत ल्याउने दावी गरेका नेकपा (एमाले) का केशव स्थापित त झन् तेश्रो नम्बरमा मात्र आएका छन् । थुतुनो र मरुँ मरुँ लाग्ने घाट बनाउने खालका अभिव्यक्तिका कारण मतदाता उनीसँग रुष्ट भएको विश्लेषण अहिले विज्ञहरुले गरिरहेका छन् ।

यस पालिको निर्वाचनमा आँखीझ्याल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार सुमन सायमीको पनि राम्रै चर्चा भयो ।

पहिलो पटक चुनावी प्रतिस्पर्धा गरेका सायमी १३ हजार ७७० मत पाउँदै चौथो नम्बरमा पर्न सफल भएका छन् । निर्वाचित हुन नसकेपनि उनका समर्थकहरुले यो सायमीको सम्मानजनक हार भएको बताइरहेका छन् ।

उपमेयरको पनि सर्वाधिक मतको रेकर्ड

कामपाको उपमेयरमा निर्वाचित २९ वर्षीया सुनिता डंगोल पनि अहिलेसम्मकै कान्छी उपमेयरको रेकर्ड बनाउन सफल भएकी छन् । सबैभन्दा कान्छी मेयरको साथमा सुनिताले सर्वाधिक मतको रेकर्ड पनि बनाएकि छन् ।

उनले मेयरमा निर्वाचित बालेन्द्र भन्दा ६ हजार ८४५ मत त पाएकी छन् नै । साथमा कुल ६८ हजार ६१२ मत पाउँदै हालसम्मकै सर्वाधिक मतको समेत रेकर्ड बनाएकि छन् ।

उपमेयर पदमा बदर मत संख्या धेरै नै रहेको अवस्थामा उपमेयर डंगोलले मतदाताबाट अझ यो भन्दा बढि नै मत पाएको अड्कलबाजी अहिले युवाहरुमाझ हुँदैछ ।

गठबन्धनको नेतृत्व गर्दै नेकपा (एकिकृत समाजवादी) बाट उपमेयर पदमा उम्मदेवारी दिएका रामेश्वर श्रेष्ठको लागि यो निर्वाचन मतदातामाझ आफुलाई चिनाउने अवसर भएको टिप्पणी पनि गरिँदैछ ।

आँखीझ्याल चुनाव चिन्हबाट उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) को चर्चा पनि कम थिएन ।

मेयर पदका उम्मेदवार सुमनसँगै सडक विस्तार लगायत विभिन्न आन्दोलनमा सत्रिय श्रेष्ठ पहिलो पटक चुनावी मैदानमा ओर्लिएर पनि काठमाडौं महानगर उपप्रमुख जस्तो पदमा तेश्रो नम्बरमा पर्न सफल भइन् ।

युवाहरुमाझ ठुलो आशाको लहर

काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा युवाहरु नै निर्वाचित भएर आउँदा आम नागरिकको आशाको ठुलै लहर देखिएको छ ।

महानगरमा अब महसूस गर्न सकिने खालको ठुलै परिवर्तन आउने आशा अहिले युवाहरुको साथमा समस्त महानगरबासीमा देखिरहेको छ ।

अहिले युवा नेतृत्वको वकालत गर्दै बालेन्द्र र सुनितालाई बधाईको ओइरो नै लागेको छ ।

Categorized in स्थानीय