arin enterprises

एटिएमबाट पैसा चोरी गर्न खोज्ने पक्राउ

SamacharDesk – विकाश | २०७७ जेठ १८, आइतबार

मध्यपुर थिमिमा राती एटिएम मेसीन फुटाएर पैसा चोर्न खोज्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । 

मध्यपुर थिमि–६ बाहाखाबजारस्थित एनआइसी एशिया बैंकको एटिएम बुथमा मेसीन फुटाएर पैसा चोर्न खोजेको सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको हो । 

तामाङले बाहखा बजारमा सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एटिएम फुटाउन खोजिरहेका थिए । 

एटिएम फुटाउन खोजिरहेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वमा गएको टोलीले तामाङलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्मर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुर पेश गरिने बताइएको छ ।

Categorized in अपराध