बेलायतमा सम्पन्न फिल्म फेस्टिभलको अवार्ड ईटहरीमा दिइयो
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २३, आइतबार
बेलायतमा सम्पन्न दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (NIFF UK २०२६) मा विभिन्न विधामा अवार्ड प्राप्त गर्न सफल कोशी प्रदेश तथा सिक्किमका चलचित्रकर्मीलाई इटहरीमा अवार्ड प्रदान गरिएको छ ।
बेलायतको एल्डरसटमा गत २७ सेप्टेम्बमा सम्पन्न निफ युके सम्पन्न भएको थियो ।
नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको आयोजनामा इटहरीमा भव्य समारोहको आयोजना गरी विजेता चलचित्रकर्मी तथा महोत्सवमा सहभागी कलाकार र निर्देशकहरूलाई सम्मान गरिएको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पुरस्कृत र सम्मानित सबैलाई प्रमाण पत्र प्रदान गरे ।
नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधानले आदिवासी समुदायका भाषा, संस्कृति, परम्परा र पहिचानलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य, पूर्व ब्रिटिस आर्मी क्याप्टेन, लेखक, कवि, गीतकार, गायक तथा कलाकार पूर्ण लिम्बूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
साथै सिक्किमकी निर्मात्री हर्कमती सुब्बा, अभिनेत्री बिना लिम्बू, अभिनेता अयुब केसी, कलाकार तथा निर्माता रितेश पौडेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुनेमा मनिता तामाङ, प्रजा प्रधान, दार्जिलिङका सुखचन्द्र थापा, कलाकार पुरुषोत्तम कोइराला तथा निर्देशक बिनोद पुडासैनीलगायत महोत्सवमा सहभागी कलाकार तथा निर्देशकहरू पनि थिए ।
समारोहमा संजोग लाफा मगरद्वारा निर्देशित वृत्तचित्र ‘बल्य्ढ्याङ्गढी’, अरबिन्द विश्वास निर्देशित ‘बिराटनगरके प्राचीन राजवंशी’ र सागर केरुङ निर्देशित ‘तङसिङ’ समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा आठराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारी, इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापा लगायतको उपस्थिती थियो ।
साथै वरिष्ठ कलाकार पशुराम चौधरी, अभिनेत्री नीलम खवास, सिक्किम तथा सिलिगुडीबाट आएका चलचित्र निर्देशक नियरा सुब्बा लगायत चलचित्रकर्मीहरूको समेत सहभागिता थियो ।
महोत्सवमा अवार्ड प्राप्त गरेका चलचित्रहरुः
उत्कृष्ट छोटो चलचित्र (Best Short Movie): ‘तङसिङ’
जुरी अवार्ड (Best Short Moive Jury Award) ‘चारदाम’
उत्कृष्ट एआई वृत्तचित्र (Best AI Documentary) ‘बिराटनगरके प्राचीन राजवंशी’
उत्कृष्ट नवोदित निर्देशक (Best Debut Director) नियरा सुब्बा (नुमाहाङमा)
उत्कृष्ट चलचित्र (Best Movie): ‘Mundhum, A Secret of Sam Sama’
कार्यक्रममा महोत्सवको अफिसियल सेलेक्सनमा परेका कोशी प्रदेशका ‘वंश’, ‘आँगन’, ‘Innocent Buffalo’, ‘The Divine Miracle’, ‘माजुरेको सम्बन्ध’ र ‘आरोही’ चलचित्रलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Categorized in पेजथ्री





