arin enterprises

विश्वका पर्यटकलाई नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु

SamacharDesk – बिराज | २०८३ कार्तिक २२, शनिबार

काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्यसहित ‘VisitNepal’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।

नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा अभियानको सुरुवात गरिएको हो ।

डिजिटल प्रविधिमार्फत सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्वका विषयहरु उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।

काठमाडौंमा एक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितीमा अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले डिजिटल प्लेटफर्मले विश्वमा पर्यटकीय गन्तव्य चिनाउने परम्परागत शैलीमा परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता माध्यमलाई नेपालको पर्यटन, कला, संस्कृति र उद्यमशीलताको प्रवद्र्धनमा उपयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘संसारको एउटा कुनाबाट साझा गरिएको कथाले अर्को कुनाको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ । टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने सम्भावित दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्छौं ।’

नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभागका निमित्त निर्देशक सुनील शर्माले यस सहकार्यलाई नेपालको गन्तव्य प्रवद्र्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरे ।

अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वव्यापी दर्शकमाझ साझा गरिरहेका छन् ।

उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ ।

त्यसैगरी, अभियानलाई थप प्रभावकारी बनाउन टिकटकमा छुट्टै ‘#VisitNepal’ ह्यासट्याग पेज सञ्चालनमा ल्याइएको छ ।

पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग टिकटकको ‘कोलाब’ फिचरमार्फत सहकार्य गर्दै नेपालको मौलिक पहिचान र स्थानीय दृष्टिकोणलाई प्रवर्ध्दन गर्नेछ । विभिन्न पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिनेछ ।

टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वसामु पुर्याउनुका साथै स्थानीय सिर्जनाकर्मी र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रबाट लाभ लिन सहयोग पुग्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्ध्दनसम्बन्धी नीति तथा प्राथमिकतासँग जोडिएको यस अभियानले नेपालको अन्तर्राष्ट्रिय बजारीकरणमा सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम र डिजिटल सिर्जनाकर्मीबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यसअघि टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा तीन सयभन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरी टेलिङ तालिम प्रदान गरिएको थियो । 

यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ ।

Categorized in बिजनेस