एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवाको दौडधूप
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ११, बुधबार

एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने समय सीमा नजिकिंदै गर्दा सरकारले संवादलाई तिब्र बनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँग संवाद बढाउनु भएको छ । हिजो राती बालुवाटारमा विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको उच्च नेतृत्वसँग वार्ता गर्नुभएका देउवाले आज पनि विहानैदेखि भेटघाटलाई तीब्र बनाउनुभएको छ ।
प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण आज बिहानै सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुग्नुभयो । गृहमन्त्री खाँडले माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री जनार्दन शर्मासंग छलफल गरेको बुझिएको छ ।
दाहालसंगको भेटपछि गृहमन्त्री खाँड एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको बालकोट पुग्नुभयो । गृहमन्त्री खाँडले ओलीसंग ४५ मिनेट कुराकानी गर्नुभएको थियो । भोलि बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल सुरु हुँदैछ ।
संसद्मा एमसीसीमाथि छलफल गर्ने वातावरण बनाउन र त्यसलाई अनुमोदनको प्रक्रियामा अघि बढाउन सरकारले संवादलाई तीब्र बनाएको हो ।
यसैबीच पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता पारित नगर्दा देश झन् ठूलो संकटमा फस्ने भन्दै नयाँ सत्ता समीकरण गरेर भए पनि एमसीसी पारित गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराइले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा नेपाल झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने भन्दै कि सत्ता गठबन्धनमा रहेका सवै दलले मत दिएर पारित गर्नुपर्ने वा नयाँ समीकरण गर्नुपर्ने सुझाव दिनुभएको हो ।
एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा पनि सबै दलको भएको उहाँको भनाइ छ । भट्टराइले सामान्य संसदीय कर्मकाण्डबाट मात्रै पारित गर्दा सर्वस्वीकार्य हुन कठीन हुने पनि बताउनुभएको छ ।
Categorized in राजनीति