कार्तिक नाचको कार्यक्रम तालिका सार्वजनिक
SamacharDesk – बिराज | २०८३ कार्तिक २१, शुक्रबार
ललितपुर । यस वर्षको कार्तिक नाचको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।
ललितपुर मंगलबजारमा हरेक वर्ष प्रदर्शन गरिने विश्व प्रशिद्ध कार्तिक नाच यस वर्ष आउँदो कार्तिक २७ गतेबाट सुरु हुने भएको छ ।
यस वर्षको कार्तिक नाचको पहिलो दिन कार्तिक २७ गते शुक्रवार मंगलबजारस्थित कात्तिक डबलीमा ‘भक्त सुरदास’ प्रदर्शन गरिनेछ ।
त्यसको भोलिपल्ट कार्तिक २८ गते शनिवार माधवानर लीला अन्तर्गत गोपिचन्द्रया बाखं (गोपिचन्द्रको कथा) र २९ गते आइतवार माधवानर लीला अन्तर्गत नै जुजु कामसेनया बाखं (राजा कामसेनको कथा) प्रदर्शन गरिनेछ ।
३० गते सोमवार माधवानर लीलामै देवी प्याखं र मंसीर १ गते माधवानर लीलाकै जुजु विक्रमादीत्यया बाखं (राजा विक्रमादीत्यको कथा) प्रदर्शन गरिनेछ ।
मंसीर २ गते बुधवार बाथः प्याखं च्वलय् खुदां दां खुदां र मंसीर ३ गते बिहिवार बाथः प्याखं कौला खिचा देखाइनेछ । बाथः प्याखं पनि कार्तिक नाचको निकै चर्चित प्रस्तुति मध्येमा पर्छ ।
मंसीर ४ गते शुक्रवार जल शयण (मधुकैटव बध, मंसीर ५ गते शनिवार वराह अवतार हिरण्याक्ष वध देखाइनेछ ।
कार्तिक नाचको सबैभन्दा चर्चित नाच नृसिंह अवतार (हिरण्यकश्यपु वध) मंसीर ५ गते शनिवारको दिन प्रदर्शन गरिने भएको छ ।
मंसीर ७ गते सोमवारका दिन वस्त्रहरण लीला देखाइनेछ भने मंसीर ८ गते मंगलबार दधि लीलासँगै यस वर्षको कार्तिक नाच समापन हुने छ ।
यी सबै प्रस्तुतिहरु हरेक दिन मंगलबजारको कार्तिक डबलीमा बेलुकीको सात बजेबाट सुरु हुने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।
कार्तिक नाच मल्लकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले नेपाल सम्वत ७६१ (वि.सं. १६९७) मा सुरु गर्न लगाएका थिए ।
३८६ वर्षको इतिहास बोकेको यो नाच सुरुवाती कालदेखि न आजसम्म हरेक वर्ष अटुट रुपमा निरन्तर चलिआएको छ ।
Categorized in संस्कृति




