ओमानलाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटमा तेस्रो
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १२, बिहिबार

नेपाल टी–२० विश्वकप क्वालिफायरमा तेस्रो स्थानमा सीमित हुनु परेको छ ।
विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
आज ओमानसँग भएको खेलमा ओमानलाई ९ विकेटले हराएर तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
आज भएको खेलमा ओमानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६।२ ओभरमा एक विकेटको क्षतिमा ९० रन जोड्दै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित सर्वाधिक ५५ रन बनाउनुभयो । उहाँले ५३ बलमा तीन चौका दुई छक्का हान्नुभएको थियो । आरिफ शेखले अविजित २१ र ओपनर आशिफ शेखले १३ रन बनाउनुभयो । बलिङमा ओमानका कप्तान जिसान मकसुदले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसान मकसुदले सर्वाधिक २१ रनब नाउनुभयो । आयन खानले १६, नसिम खुसी १५ र कलिमुल्लाहले १४ रन बनाउनुभयो ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीपले चार ओभरमा १३ रन खर्चिनुभएको थियो । कमलसिंह ऐरी, अभिनाश बोहरा, आरिफ शेख र सागर ढकालले एक एक विकेट लिनुभयो । उपाधिका लागि बिहीबारनै यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा भएको छ ।
Categorized in स्पाेर्ट्स
