काठमाडौंमा सुनसान पाहाँचःर्हे
SamacharDesk – विकाश | २०७६ चैत्र ११, मंगलबार

चैत्र कृष्ण औंशी । यो दिन कहाँ यसरी सुनसान हुने दिन हो र । यो दिन त काठमाडौंका हरेक टोलमा उत्सव हुने गथ्र्यो ।
पाहाँचःर्हे अन्तर्गतको दोश्रो दिन । टोलटोलमा स्थानीय देवीदेवता खटमा विराजमान गराई खट जात्रा हुने गर्थ्यो भने यो दिन बालबालिकाहरुलाई मरःजा खुवाउने पनि परम्परा रहेको छ ।
तान्त्रिक विधि अनुसार पूजा सम्पन्न गरी तयार गरिने मरःजा खाँदा बालबालिकाहरुलाई रोगव्याधीले नछुने जनविश्वास रहि आएको छ ।
तर आज भने त्यहि रोगव्याधीको डरले नै मरःजा खुवाउने परम्परा रोकियो ।
विश्वभरी कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिरहेको र नेपालमा पनि यसको संक्रमण देखिसकेको अवस्थामा यसपालिको पाहाँचःर्हे जात्रा प्रभावित बन्न पुग्यो ।
विहान पनि टोलबासीले साधारण पूजा गरे भने बेलुकि पनि सोही किसिमले पूजा मात्र गरेर जात्रा सिध्याइयो
नभए यो समयमा टोलटोलमा नायखिं बाजा गुञ्जायमान भइरहन्थ्यो । रातभरि नै नायखिं बजिरहन्थ्यो । तर यसवर्ष नायखिं पनि त्यत्ति बजेन ।
यस वर्ष प्राय टोलहरुमा खटमा देउता विराजमान गराइएन । मन्दिरभित्रै साधारण पूजा मात्र गरेर सबैले पाहाँचःर्हे मनाए ।
विहान पनि टोलबासीले साधारण पूजा गरे भने बेलुकि पनि सोही किसिमले पूजा मात्र गरेर जात्रा सिध्याइयो ।
अघिल्लो दिन चैत्र कृष्ण चतुर्दशीको दिनमा पनि प्राय सबै स्थानमा साधारण किसिमको पूजा गर्दै पाहाँचःर्हे मनाइयो ।
काठमाडौंका न्हायकंटोलमा न्हायकंतारा अजिमा वा उग्रताराको पूजा मात्र गरेर जात्रा मनाइयो । भीडभाड पनि थिएन र चहलपहल केही थिएन ।
न्हायकं टोलका स्थानीय देव ब्राम्हण हरिओम पति राजोपाध्यायले विधि अनुसार पूजा गरे । त्यसपछि केही टोलबासीले साधारण पूजा गरेपछि सो दिनको जात्रा सम्पन्न गरिएको थियो ।
सो दिनमा सबैले आआफ्नो चोक वा घर नजिकै रहेका लुमहाःद्यःलाई पूजा गरे । सागलमा लुकेर बसेका महादेवको रुपमा पाहाँचःर्हेको दिनमा लुकमहाःद्यः पूजा गर्ने परम्परा नेवार समाजमा छ ।
क्षेत्रपाटी नजिकै इखापोखरीमा पनि बाजागाजा बजेको थियो । रमाइलै वातावरणमा लुकमहाःद्यः पूजा गरियो तर भीडभाड हुन नदिन भने गुठीयारले ध्यान पुर्याएका थिए । विगतमा भन्दा निकै कम मात्र भेला भइ पूजा सम्पन्न गरेका थिए ।
स्थानीय नेपालभाषामा साः भन्नाले मल र गाः भन्नाले खाल्डो भन्ने बुझिन्छ । विगतमा नेवार समाजमा घरकै वरपर जैविक फोहर जम्मा गरेर त्यसलाई मल बनाइ खेतमा प्रयोग गर्ने गरिन्थ्यो । सोही फोहर जम्मा गर्ने ठाउँलाई सागल भनिन्छ ।
लुकमहाःद्यः पूजा गर्ने परम्परासँग विभिन्न किम्वदन्ति समाजमा प्रचलित छ । शनिको प्रकोपबाट बच्न महादेव सागलमा लुकेको कथासँगै भष्मासुरबाट बच्न सागलमा लुकेको कथा पनि समाजमा प्रचलित छ ।
साथै देवीहरुले मासांहार गरेको देखेर महादेवलाई खान मन भएपछि लुकेर खाएको र सोही महादेवलाई लुकमहाःद्यःको रुपमा पुज्ने गरिएको भनाई पनि समाजमा रहेको छ ।
यी त भए धार्मिक विश्वास वा सामाजिक कथनका कुरा । तर वर्तमान परिवेशमा लुकमहाःद्यःको परम्परा सान्दर्भिक नै देखिन्छ ।
सागल भनेको फोहर जम्मा हुने ठाउँ हो । सागलमा फोहर सफा गरेर महादेव पूजा गर्ने परम्पराले आफ्नो घरको वरपर सरसफाइ गर्नुपर्ने व्यवहारिक शिक्षा नै दिएको छ ।
यसैबीच भोलि चैत्र शुक्ल प्रतिपदाका दिन असनमा खट जुधाउने परम्परा पनि यस वर्ष रोकिने भएको छ । पाहाँचःर्हेका अन्तिम दिन असनमा खट जुधाउने परम्परा पनि वर्तमान अवस्थाका कारण यसपालि नगरिने भएको हो ।
खट जुधाउने भनेर टेबहालको भद्रकाली, वटुको भद्रकाली र कंकेश्वरीको खट असनमा भेला गराइ मसाल साटासाट गर्ने गरिन्छ ।
रोगव्याधीबाट बचाउने विश्वास गरिएको र सरसफाइको शिक्षा दिने यस्तो जात्रालाई औपचारिकता मात्र पुरा गर्दै मनाउनुपर्दा स्थानीय समाज भने खुसि थिएनन् । ‘तर समय र अवस्था अनुसार पनि पाइला चाल्नुपर्यो नि’ पूजा गर्न आएकि एक स्थानीय महिलाले भनिन् ।
Categorized in संस्कृति