किन पुगेनन् त मन्त्री भट्टराई देय् दबूको वार्षिकोत्सवमा
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ भाद्र १९, बिहिबार

दिन : २०७६ भाद्र १९ गते शुक्रबार । काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटको चहलपहल बेग्लै थियो । नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको वार्षिकोत्सव कार्यक्रम हुन गइरहेको थियो । त्यो पनि अरु हो र, पच्चीसौं वार्षिकोत्सव । कार्यक्रमलाई भव्य बनाउन आयोजकको ठुलै भागदौड हुँदै थियो ।
तर सभाहलभन्दा बाहिर, ब्यांक्वेटको कम्पाउन्डमा भने विरोध प्रदर्शन पनि भइरहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउन लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई लक्षित थियो उक्त विरोध प्रदर्शन ।
ऐतिहासिक विक्रमशील महाविहारको कमलपोखरी मासेर बनाइएको छायाँ कम्प्लेक्सको उद्घाटन गरेका मन्त्री भन्दै नेवाः राजनैतीक अभियान विरोधमा उत्रिएको थियो । नेवाःकै सम्पदा मासेर बनाइएको कम्प्लेक्सलाई साथ दिने व्यक्तिलाई नेवाःको राष्ट्रिय संगठनको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथी बनाउन नहुने माग नेवाः राजनैतीक अभियानको रहेको थियो ।
कार्यक्रमस्थलको परिसरमा नेवाः राजनैतीक अभियान, सेभ नेपाः भ्याली, नेपाः यूथ अर्गनाइजेसन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु भेला भइरहेका थिए । छायाँ कम्प्लेक्स भत्काई ऐतिहासिक कमलपोखरीको पुनर्निर्माण गर्नुपर्ने मागसहितको ब्यानरहरु बोकेका थिए प्रदर्शनकारीले । नाराबाजी पनि हुँदै थियो ।
तर कार्यक्रमका प्रमुख अतिथिको रुपमा डाकिएका पर्यटनमन्त्री कार्यक्रममा पुगेनन् । अन्तिम समयमा आएर कार्यक्रमका प्रमुख अतिथि नै फेरीए । व्यापक विरोध पछि कार्यक्रम आयोजक देय् दबूले पनि प्रमुख अतिथि बदल्न वाध्य भएको थियो भने पर्यटनमन्त्री भट्टराई पनि कार्यक्रममा नआउने निर्णयमा पुग्न वाध्य भएका थिए ।
दबूको २५औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथिको रुपमा पर्यटनमन्त्री भट्टराईको नाम सार्वजनिक भएलगत्तै नै यसको चौतर्फी विरोध शुरु भएको थियो । दबूले भट्टराईलाई प्रमुख अतिथि बनाएकोप्रति सामाजिक संजालमा पनि व्यापक विरोध जनाउसहितका पोष्टहरु देखिएका थिए भने नेवाः राजनैतीक अभियानले त दबूलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
कार्यक्रमस्थलमा भट्टराईलाई कालो झन्डा देखाउने कार्यक्रमसम्म तय भइसकेको थियो भने सर्वत्र विरोध पछि अन्तिम सयममा आएर पर्यटनमन्त्री कार्यक्रममा नआउने निर्णयमा पुगेका थिए ।
विभिन्न सम्मान र पुरस्कार सहित देय् दबूको रजत जयन्ती मनाईयो
कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रमुख अतिथिको जिम्मेवारी पुरा गरे ।
कार्यक्रममा विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । गिरिधरलाल नेपालभाषा सेवा पुरस्कार साहित्यकार छत्रबहादुर कायस्थलाई, नारायणदेवी तीर्थ व्यवसायी पुरस्कार अञ्जना ताम्राकारलाई र नारायणदेवी तीर्थ समाजसेवा पुरस्कार विराटनगरको झी पुचःलाई दिइयो । पुरस्कारको राशी रु. एक लाखको थियो ।
सोही कार्यक्रममा नेवाः अधिकारकर्मी मल्ल के. सुन्दर, प्रकाश पालिखे, शारिरीक सुगठनमा अन्तर्राष्ट्रिय उपाधी विजेता महेश्वर महर्जन लगायतलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
Categorized in राष्ट्रिय