गायक दिपक भारतमा छाउँदै
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ कार्तिक १०, शनिबार

गायक दिपक बज्राचार्य अहिले भारतीय बजारमा पनि छाउन थालेका छन् । मनमगनको हिन्दी भर्सन ‘मन का मगन’ भारतम सार्वजनिक भएसँगै गायक बज्राचार्यको चर्चा भारतीय संगीतमा बजारमा पनि चल्न थालेको हो ।
बज्राचार्यको लोकप्रिय नेपाली गीत मनमगनको हिन्दी भर्सन भारतीय कम्पनी डिजिट्यूनले भारतमा सार्वजनिक गरेको थियो । अहिले उक्त मनमगन हिन्दी भर्सन ‘मनका मगन’ भारतीय बजारमा पनि लोकप्रिय हुँदै गइरहेको छ ।
मनका मगनको लोकप्रियतासँगै अहिले भारतीय संचारमाध्यममा पनि यसको चर्चा खुब हुन थालेको छ । यसैक्रममा भारतीय मनोरन्जन क्षेत्र लक्षित समाचार पोर्टल www.movietalkies.com ले त बज्राचार्यलाई नेपाली किशोर कुमार समेत भने ।
त्यसैगरी हिंदमाता मिरर पत्रिकाले नेपाली संगीत भारतमा लोकप्रिय हुँदै गएको लेख्दै यसको श्रेय गायक बज्राचार्यलाई दियो । दिपकको आवाजमा माटोको सुगन्ध रहेको भन्ने डिजिट्यूनका एक संस्थापक निखिल पंचमियाको भनाई विधान केशरी पत्रिकाले प्रकाशित गर्यो ।
फिल्मि पत्रिकाले त दिपकलाई नेपालको संगीत सम्राटको उपाधीसम्मै दिन भ्याए । यसको साथमा भारतका विभिन्न स्थानहरुमा दिपकको मनका मगनको ठुलठुला होर्डिङ बोर्डहरु पनि ठडिन थालेका छन् ।
यस प्रकारले भारतमा आफ्नो गीत चर्चा र लोकप्रियताको सवालमा बज्राचार्यले भने आफु नभई नेपाली संगीत भारतमा लोकप्रिय भएको बताए । ‘संसार नेपाली संगीतमा झुमोस भन्ने हाम्रो उद्देश्य हो’ बज्राचार्यले भने, ‘मैले गाएको गीतको माध्यमबाट नेपाली संगीत भारतीय बजारमा पुग्यो । यो दिपक बज्राचार्य होइन, नेपाली संगीतको गर्व हो ।’
Categorized in पेजथ्री