नेकपाका संस्थापक महासचिव पुष्पलाल स्मृति दिवस मनाइँदै
SamacharDesk – समाचारडेस्क | २०७६ श्रावण ७, मंगलबार

आज साउन ७ गते, विभिन्न कार्यक्रमहरु गर्दै देशका विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
यसैक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा बिहान कीर्तिपुर नगरपालिका, वडा नं ८ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा पुष्पलालको सालिकमा माल्यार्पण गरीयो । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिष्ठानका अध्यक्ष साथै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालको सालिकमा माल्यार्पण गर्नुभयो ।
माल्यार्पणपछि आयोजित श्रद्धान्जली सभामा अध्यक्ष दाहाल, पूर्वप्रधानमन्त्री खनाल, प्रतिष्ठानका अध्यक्ष नेपाल लगायतले वर्तमान परिवेशमा पनि पुष्पलालका विचारहरु निकै सान्दर्भिक रहेको बताउनुभयो ।
साथै, पुष्पलाल स्मृति केन्द्रको आयोजनामा काठमाडौंको ताम्सीपाखा विष्णुमति लिंकरोडमा पनि पुष्पलालको सालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको छ ।
कार्यक्रममा प्रदेश ३ का सांसद वसन्त मानन्धर, पूर्व सांसद् प्रभा बज्राचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ माधव प्रधानको साथमा केन्द्रका अध्यक्ष न्हूछेँकाजी महर्जनले कम्यूनिष्ट आन्दोलन र राजनीतिक परिवर्तनमा पुष्पलालको योगदानको चर्चा गरे ।
आजै साँझमा सोही स्थानमा दिपावली गर्ने कार्यक्रम पनि रहेको छ ।
शहिद गंगालाल श्रेष्ठका भाई पुष्पलालले विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।
सोभन्दा अगाडि उनले नेपाली प्रजातान्त्रिक संघ स्थापना गरेका थिए । विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।
पिता भक्तलाल र आमा तुलसीकुमारीका माइला छोराका रुपमा विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पुष्पलालको जन्म भएको थियो ।
पुष्पलाललाई नेपाली कम्यूनिष्ट आन्दोलनका आदर्श पुरुषको रुपमा लिइन्छ । अध्ययनशील नेताका रुपमा पनि परिचित पुष्पलालका पुस्तकहरु पनि प्रकाशन भएका छन् । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद पनि गरेका थिए ।
उनले कम्यूनिष्टको साथै नेपाली कांग्रेस जस्ता प्रजातान्त्रिक शक्तिसंँग पनि मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्थाको विरुद्ध लागि नै रहे ।
विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उहाँको निधन भएको थियो ।
Categorized in राष्ट्रिय