arin enterprises

नेपालको विश्वकप खेल्ने सपना फेरि पनि अधुरै

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १०, मंगलबार

नेपालको टी–२० विश्वकप खेल्ने सपना फेरि पनि अधुरै रह्यो ।

विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।

आजको खेलमा जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सवै विकेटको क्षतिमा १०७ रनमा समेटिएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउनुभयो । ऐरीले ३८ नै बलमा तीन चौका हान्नुभएको थियो । ज्ञानेन्द्र मल्लले २० रन बनाउनुभयो । मल्लले १६ बलमा एक चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको थियो ।

आरिफ शेखले ११ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल सात रनमा आउट हुनुभयो । आशिफ शेक र लोकेश बम शून्य रनमा पेभेलियन फर्किनुभयो । विवेक यादव आठ रन जोड्दै बाहिरिनु भयो । जितेन्द्र मुखियाले पाँच तथा सन्दीप लामिछानेले र कमल ऐरी समान चार रन जोड्दै पेभेलियन फर्किनुभएको थियो ।

नेपाललाई सस्तैमा समेट्न यूएईका अहमेद राजा एक्लैले पाँच विकेट लिनुभयो । जुनइद सिद्धिक्वीले तीन विकेट लिनुभयो । सिद्धिक्वीले पहिलो ओभरमै नेपालको दुई विकेट लिनुभयो । रोहन मुस्ताफा र जाहोर खानले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाउनुभयो ।

३८ बलको सामना गर्नुभएका वासिमले चार चौका र चार छक्का हान्नुभएको थियो । वृत्य अरविन्दले ४६ रन बनाउनुभयो । २३ बलको सामना गर्नुभएका अरविन्दले पाँच चौका र तीन छक्का हान्नुभएको थियो । ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्किनु भएको थियो । मोहमद उसमानले १७ र जावर फारदिले अविजित ११ रन बनाउनुभयो । रोहन मुस्ताफाले अविजित नौ र कप्तान अहमेद राजाले अविजित ६ रन बनाउनुभयो ।

फाइनल पुगेको यूएईले उपाधिका लागि आयरल्यान्डसँग खेल्नेछ । मंगलबार नै भएको अर्काे सेमिफाइनल खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

Categorized in स्पाेर्ट्स