मन मगन हिन्दिमा पनि सार्वजनिक
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन २२, सोमबार

गायक दिपक बज्राचार्यको अहिले निकै लोकप्रिय भइरहेको गीत मनमगनको हिन्दी भर्सन पनि सार्वजनिक भएको छ । भारतीय म्यूजिक कम्पनी डिजिट्यून मार्फत मनमगनको हिन्दी भर्सन सार्वजनिक भएको हो ।
गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनी डिजिट्यूनसँग अनुबन्धित भएसँगै मनमगनको हिन्दी भर्सन पनि बनाइएको थियो भने हाल आएर सार्वजनिक गरिएको हो । डिजिट्यूनले बज्राचार्यलाई अन्य हिन्दी गीत पनि गाउन दिनेछन् भने पहिलो चरणमा मनमगनको हिन्दी भर्सन सार्वजनिक गरिएको हो ।
डिजिट्यूनले १ करोड भारतीय रुपैयाँ लगानी गरी मनमगन हिन्दी भर्सनको प्रवर्द्धन भारतमा गर्न लागेको छ । सार्वजनिक भएको मनमगन हिन्दी भर्सनमा भिडियो भने नेपाली गीतकै रहेको छ । मनमगन हिन्दी भर्सन अब भारतीय च्यानलबाट प्रसारण हुँदा विशुद्ध नेपाली संस्कृति समेत भारतीय च्यानलमा प्रसारण हुनेमा आफु निकै उत्साहित रहेको बज्राचार्यको भनाई छ ।
मनमगनको हिन्दी भर्सनको शब्द पनि दिपककै रिदम ब्यान्डका रिकि शाक्यले लेखेका छन् । मनमगन नेपालीको साथै नेपालभाषा भर्सनको शब्द पनि शाक्यले नै लेखेका हुन् । भारतकै ३ जना रचनाकारको शब्द र शाक्यको रचनामा डिजिट्यूनले शाक्यकै रचनालाई चयन गरेको दीपकले जानकारी दिनुभयो ।
समाचारडेस्कसँग कुरा गर्दै गायक बज्राचार्यले विशुद्ध नेपाली बाजाको तालमा संसारलाई नचाउन सम्भव भएसम्म यो गीतलाई विभिन्न भाषामा बनाउँदै जाने बताउनुभयो । बज्राचार्य हाल कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ ।
पछिल्लो समयमा let the world dance in Nepali music नारासहित गायक बज्राचार्यले आफ्ना पप गीतहरुमा मौलिक नेपाली बाजाहरुको फ्यूजन गर्न थालेका छन् । यसैको पछिल्लो गीत मनमगनमा गायक बज्राचार्यले मनमगनमा नेपाली ताल बाजाको प्रयोग गर्नुका साथै भिडियोमा लाखे, पुलुकिसि, कुमारी जस्ता संस्कृति पनि देखाएका छन् ।
Categorized in पेजथ्री
