arin enterprises

यसपालीको गथांमुगःमा समावेशी र समानता माग

SamacharDesk – समाचारडेस्क | २०७६ श्रावण १४, मंगलबार

आज श्रावण कृष्ण चतुर्दशी, काठमाडौं उपत्यकाका नेवार समुदायले गथांमुगः चःर्हे मनाएका छन् । आजको दिन राक्षसको प्रतीकको रुपमा नर्कटको तीनखुट्टे गथांमुगः बनाई जलाएर नदिमा सेलाउने गरिन्छ ।

साथै आजको दिनमा घरघरबाट छ्वालीको गथांमुगः बनाई काँचो माटोको भेगतमा वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर छ्वासमा अथाव टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । 

नर्कटको गथांमुगःको साथै छ्वाली र योसँगैको सामग्रीहरु पनि घरमा भएका भूतप्रेत लगायतका नकारात्मक शक्तिको रुपमा बाहिर फालिने हो ।

यसरी राखिसकेर घरमा छिर्नु अघि मूलढोकाको माथि चौकोसमा तीनखुट्टे काँटि ठोकिदिइन्छ । यो काँटि ठोकिसकेपछि घरभित्र कुनै नराम्रो अदृश्य शक्ति प्रवेश गर्न सक्दैन भन्ने धार्मिक मान्यता छ । यो काँटि वा किल्लालाई स्थानीय नेपालभाषामा प्याकिं भनिन्छ ।

गथांमुगःलाई राक्षस वा घर, टोल, क्षेत्रको नकारात्मक तत्वको रुपमा फालिने हो । गथांमुगः नदिमा सेलाइसकेपछि आफ्नो घर वा टोल भूतप्रेत, राक्षस लगायतका नकारात्मक अदृश्य शक्तिहरुबाट सुरक्षित भएको विश्वास गरिन्छ ।

परम्परागत रुपमा नर्कटको ठुलठुलो गथांमुगः वा घरघरबाट छ्वालीको सानो गथांमुगः त वर्षेनी पन्छाउने गरिन्थ्यो । यस वर्ष केही फरक दृश्य पनि देख्न पाईयो ।

हरेक वर्ष  झैं यस वर्ष पनि काठमाडौंको विभिन्न टोलहरुमा नर्कटको गथांमुगः ठड्याइएको थियो । काठमाडौंको भित्री वस्तीको प्राय सबैजसो टोलटोलमा नर्कटको गथांमुगः ठड्याइएको थियो । बाङ्गेमुढा, जनबहाल, ताम्सीपाखा, त्यौड कुसुमबियालाछि, प्यङ्गथां, थँहितिमा ठड्याइएको गथांमुगः भने विगतमा भन्दा फरक देखियो ।

अन्य स्थानको गथांमुगःको अनुहार नाङ्गलोमा लेखिएको राक्षस स्वरुप थियो । तर यी स्थानमा ठड्याइएका गथांमुगःमा देशका प्रधानमन्त्री लगायत मन्त्रीहरुको साथै लोकसेवा आयोगका प्रमुख र उपत्यका विकास प्राधीकरणका आयुक्तको फोटो झुन्ड्याइएको थियो ।

नेवाः राष्ट्रिय मंकाः संघर्ष समितिबाट यसरी मन्त्री र आयोगका आयुक्त, प्रमुख लगायतको फोटो सहित गथांमुगः ठड्याइएको बुझिएको छ । विकासको नाम दिएर सडक विस्तार, फास्ट ट्र्याक लगायत पछिल्लो समयमा गुठी विधेयक र लोक सेवा आयोगको परीक्षामा समेत नेवाःहरुलाई राज्यले गरेको अन्यायको विरोध स्वरुप यसरी प्रधानमन्त्री लगायत मन्त्री र उच्चअधिकारीहरुलाई गथांमुगः बनाएर सेलाउन लगेको संघर्ष समितिका एक सदस्यले समाचारडेस्कलाई जानकारी दिए ।

‘गथांमुगः भनेको घर, टोल, समाजलाई विगार गर्ने राक्षसी शक्तिहरु पन्छाउने पर्व हो । यदि स्थानीयको मागलाई बेवास्ता गरिए सरकार र आयोगका उच्च अधिकारी भनाउँदाहरुलाई हामी यसरी नै पन्छाउनेछौं’ संघर्ष समितिका एक सदस्यले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, लोक सेवा आयोगका प्रमुख उमेश मैनाली, भूमि सुधार मन्त्री पद्मा अर्याल र उपत्यका विकास प्राधीकरणका आयुक्त भाईकाजी तिवारीको फोटो गथांमुगःमा झुन्ड्याई जलाएर नदिमा सेलाइएको हो ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082