रुपज्योती अझ पाँच दिन थुनामै रहने
SamacharDesk – सम्पादक डेस्क | २०७६ कार्तिक २५, सोमबार

ठगी मुद्दामा पक्राउ परेका पूर्व अर्थ सहायकमन्त्री साथै उद्योगपति रुपज्योति कंसाकारलाई अनुसन्धानको लागि अदालतले फेरी पाँच दिनको म्याद थप गरेको छ । विहिबार पक्राउ परेका उद्योगपति कंसाकार साथै उनकी छोरी सुरुचीलाई अनुसन्धानको लागि पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरेको हो ।
गत कार्तिक २१ गते विहिबार सिँगापुरबाट फर्केका उद्योगपति रुपज्योतिको साथमा उनकी छोरी सुरुचीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि २२ गते शुक्रबार अनुसन्धानको लागि भनेर उनलाई ३ दिन हिरासतमा राख्न म्याद दिइएको थियो ।
प्रहरीले दुबैलाई आईतबार अदालतमा पेश गर्दा अनुसन्धानको लागि पाँच दिन हिरासतमा राख्न म्याद थपेको हो ।
उद्योगपति कंसाकारलाई एक करोडभन्दा बढि ठगी गरेको आरोप लागेको छ । कंसाकारको व्यवसायिक समूह, ज्योति समूह अन्तर्गतको तीनवटा कम्पनी ज्योति एन्ड कम्पनी, ज्योति स्पिनिङ मिल, स्याकार एन्ड कम्पनी अंशियार रहेको ल्यान्डमार्क डेभलपर्सले आफुलाई १ करोड भन्दा बढि ठगी गरेको आरोप बालुवाटार निवासी विज्ञेन्द्रकृष्ण मल्ले लगाएका छन् । मल्लकै उजुरीको आधारमा प्रहरीले कंसाकारलाई पक्राउ गरेको हो ।
मुद्दा के हो ?
बाँसवारीस्थित शहिद गंगालाल अस्पतालबाट २ सय मिटर जति पर ६ रोपनी ११ आना जग्गा रहेको छ । उक्त जग्गा ल्यान्डमाक्र्स डेभलपर्स प्रा.लि.को नाममा छ । र यो ल्यान्डमार्क डेभलपर्स प्रा.लि.को शेयर ज्योति समूहको तीनवटा कम्पनी स्याकार एन्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एन्ड कम्पनीको नाममा कायम छ ।
२०७१ सालमा ज्योति ग्रुपले उक्त जग्गामा हाउजिङको विजनेस चलाउनका लागि भन्दै सिई कन्सट्रक्सनलाई वर्किङ पार्टनर बनाएर काम अगाडी बढाइयो ।
बाँसबारीस्थित उक्त जग्गामा १२ वटा प्लटमा हाउजिङ बनाएर वितरण गर्ने भन्दै ल्यान्डमार्क डेभलपर्सले सर्वसाधारणबाट रकम उठायो । सातवटा प्लट ज्योति ग्रुपकै मालिक रुपज्योति आफैले लिए भने एक प्लट बालुवाटार निवासी विज्ञेन्द्रकृष्ण मल्लले पनि बुक गरे ।
विज्ञेन्द्रले २०७१ जेठ २ गते १० लाख रुपैयाँ दिएर प्लट बुक गरे । २०७१ भदौसम्म १ करोड २६ लाख रुपैयाँ पनि दिए ।
रकम फिर्ता लिन आउन भन्दा पनि विज्ञेन्द्र भने आएनन्
तर यसभन्दा अगाडि रुपज्योतिले सिईलाई बाँकि प्लट पनि आफैले लिने र बाँकि रकम नलिइ पैसा फर्काइ दिन भनेका रहेछन् । कंसाकारले यसो भन्दाभन्दै पनि सिईले विज्ञेन्द्रसँग रकम लिइहाले ।
यसपछि बाँकि पाँच प्लट किनेकामध्ये दुइलाई पानीपोखरीको हाउजिङमा सारियो । अर्को दुईलाई क्षतिपूर्तिसहित रकम फिर्ता गरियो । तर मल्लको हिसाब किताब भने चुक्ता भएन । रुपज्योतिका अनुसार रकम फिर्ता लिन आउन भन्दा पनि विज्ञेन्द्र भने आएनन् ।
मल्लका दाजु रुपज्योतीकै साथी भएको कारणले यो मुद्दालाई कुराकानीकै माध्यमबाट सल्टाउन खोजिएपनि स्थितीले अर्कै रुप लियो । ज्योति र मल्लबीच वादविवाद बढ्दै गयो । वादविवाद बढ्दै गएर यो मुद्दा अदालतसम्मै पुग्यो ।
२०७५ मंसीर १६ गतेका दिन मल्लले रुपज्योति विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको आरोप लगाएर निवेदन दर्ता गरे । काठमाडौं जिल्ला अदालतले रुपज्योति विरुद्ध पक्राउ पूर्जी जारी गरे । पक्राउ पूर्जीविरुद्ध निषेधाज्ञाको माग सहित रुपज्योति सर्वोच्च अदालत पुगे ।
सर्वोच्चले पक्राउ पूर्जीमा निषेधाज्ञा अर्थात स्टे अर्डर पनि जारी गरे । पछि सर्वोच्चले यस मुद्दामा अन्तिम सुनुवाई गर्दै रुपज्योतिको माग दावी नपुगेको भन्दै निषेधाज्ञा खारेज गरिदिए ।
यो समयमा रुपज्योति नेपालमा थिएन, सिंगापुरमा थिए । स्टे अर्डर खारेज भएपछि यस मुद्दाको पूर्णपाठ आएपछि आवश्यक प्रक्रियामा जाने भन्दै रुपज्योति नेपाल फर्किए ।
उनी नेपाल आउनु अगाडी उनलाई पक्राउ गर्ने तयारी भइरहेको भन्दै कतिले नेपाल नआउन सुझाएका थिए । तर आफुले कुनै गलती नगरेको र आवश्यक कानूनी प्रक्रियामा जाने भन्दै उनी नेपाल फर्किए ।
उनी नेपाल पुग्ने वित्तिकै प्रहरीले उनी र उनको साथमा रहेकी उनकी छोरी सुरुची समेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्यो ।
रुपज्योतीको प्रतिक्रिया
यस विषयमा रुपज्योतीले आफु र आफ्नो परिवारलाई बदनाम गर्न ठुलै षडयन्त्र भइरहेको प्रतिक्रिया दिएका छन् । यस मुद्दामा राजनीतिक पृष्ठभूमिका ठुलै व्यक्तिहरुको संलग्नता रहेको आशंका उनले व्यक्त गरेका छन् ।
आफुलाई के कारणले पक्राउ गरेको हो भन्ने कुरा बुझ्न नसकिएको कंसाकारको भनाई छ ।
संचारकर्मी विगेन तुलाधर, प्रज्वल शाक्यसँगै दरवारमार्गस्थित महानगरीय प्रहरी प्रभागमा रुपज्योतीलाई भेट्न पुगेका समाचारडेस्क सम्वाददातासँग कुरा गर्दै प्रतिनिधि थुनामा रहेका कंसाकारलाई भेट्न पुगेका संचारकर्मी विगेन तुलाधरसँग कुराकानी गर्दै कंसाकारले आफुसँग कुनै सम्वन्ध नै नभएको विषयमा विना प्रमाण आफुलाई पक्राउ गरेको बताएका हुन् ।
सर्वोच्चले मुद्दामा दावी विरोध नपुगेको भन्दै कंसाकारविरुद्ध फैसला त सुनाए । तर यसको पूर्णपाठ भने आइनसकेको अवस्था छ । पूर्णपाठ नै आउन नभ्याइकन आफुलाई पक्रन प्रहरीले गरेको हतारोले शंका पैदा गराएको कंसाकारको भनाई छ ।
आर्थिक कारोवारको पक्षमा हेरियो भने विज्ञेन्द्र वा अन्यसँग रकम बुझेको सिई कन्सट्रक्सनले हो । सिई कन्सट्रक्सनमा आफ्नो कुनै किसिमको संलग्नता नभएको बताउँछन् कंसाकार ।
‘सिई कन्सट्रक्सनमा मेरो कुनै संलग्नता नै छैन । आर्थिक कारोबार गर्ने, पैसा बुझाउने उसलाई अनि मुद्दा मलाई ? बुझिनसक्नु भएको छ ।’ कंसाकारले भने, ‘अब हाउजिङ कम्पनीको शेयर ज्योतिको भनौंं भनेतापनि शेयर होल्डर ज्योति ग्रुप अन्तर्गतको तीनवटा कम्पनी हो, म व्यक्ति होइन । मलाई नै यसरी लक्षित गर्नुमा केही कुरा त लुकेको देखिन्छ ।’
सिईले मल्लसँग रकम बुझिसकेपछि रसिद त होइन, तर सिईकै आधिकारीक पेपरमा रकम बुझेको भर्पाई समेत लेखेर दिएको छ । साथमा सिईले सो रकम आफुसँग सुरक्षित रहेको समेत पनि लेखेर दिएको छ । रकम आफुले बुझेको र आफुसँगै सुरक्षित रहेको भनेर सिईले भनिरहँदा कंसाकारविरुद्ध किन मुद्दा चलाईयो भन्ने प्रश्न त उब्जिन्छ नै ।
कंसाकारविरुद्ध ठगीको मुद्दा चलाइएको छ । आफुले ठगी कसरी गरें भन्ने प्रश्न पनि कंसाकारको छ । कंसाकारमाथि मल्लले रकम लिएर हाउजिङ नदिएको आरोप लगाएका छन् । तर कंसाकारले अदालतमार्फत नै मल्ललाई रकम फिर्ता गर्न खोजेका छन् ।
पटक पटक रकम फिर्ता लिन आउन विभिन्न माध्यमबाट भन्दापनि मल्ल सम्पर्कमा नआएपछि आफुले अदालतमार्फत रकम बुझाउन खोजेको कंसाकारले बताए ।
कंसाकारले २०७५ मंसीर १३ गतेकै दिनमा जिल्ला अदालतमा विज्ञेन्द्रलाई सावाँ १ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्न खोजेको र सोको चलनचल्ती अनुसारको व्याज पनि तिरि पाउँ भनी रकम सहित निवेदन दिएका थिए । र सोको तीन दिन पछि, कार्तिक १६ गतेको दिन आफुलाई कंसाकारले ठगी गरेको भन्ने निवेदन लिएर मल्ल महानगरीय प्रहरी परीसर पुगेका थिए ।
विभिन्न किसिमका टिकाटिप्पणी
अहिले रुपज्योति र मल्लबीचको यो लडाईँले ठुलै चर्चा लिइरहेको छ ।
धेरैले यस मुद्दालाई मात्र ईगो र व्यक्तिगत रिसइबीको झगडा भनेका छन् । यो विषयमा मल्ल र कंसाकारबीच वादविवाद चलिरहँदा मल्लले ज्योतीलाई एकदिन भएपनि थुनामा थुन्न लगाउँछु भनेर बोलेको श्रोतले बताएको छ । मल्लले सोही ईगोमात्र साँधिरहेको दावी पनि ज्योतिको रहेको छ ।
यसको साथमा मल्ललाई प्रयोग गरेर केही उच्च पदस्थ व्यक्तिहरु यस मुद्दामा लागिरहेको पनि आशंका अहिले देखिन थालेको छ । ज्योती ठुलै अरवपति व्यवसायी भएको कारण डरत्रास देखाई केही ठुलै रकम असुल्न मात्र यो काण्ड मच्चिँदै पो छ कि भन्ने आशंका पनि धेरैमा देखिएको छ ।
सामाजिक सञ्जालको वालमा अहिले कंसाकारको समर्थनमा पनि विभिन्न पोष्टहरु देखिरहेका छन् । कतिले यहाँका स्थानीय उद्योगी, व्यापारीलाई विस्थापित गर्ने षडयन्त्रको एक कडि ज्योती पक्राउ काण्ड हो पनि भनेका छन् भने कतिले अर्बौंको कर छली काण्डमा सफाई दिने राज्यले १ करोड २६ लाखको ठगी भन्दै ज्योतीलाई पक्राउ गरेको भन्दै व्यङ्ग हानेका छन् ।
पछिल्लो समयमा आएर यसमा ठुलै राजनीतिक पृष्ठभूमिका व्यक्तिहरुको नामसमेत जोडिन आएको छ । पछिल्लो समयमा आएर केही समाचार श्रोतहरुले यसमा उपराष्ट्रपतिका पुत्र साथै गृहमन्त्रीका पुत्रको समेतको हात रहेको दावी गरेका छन् ।
पद्मज्योतीलाई पक्राउ आदेश जारी
यसैबीच ज्योती ग्रुपका अध्यक्ष पद्म ज्योतीलाई पनि पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । ठगी मुद्दामा रुपज्योतीविरुद्ध मुद्दा चलिरहकै बेलामा महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट पद्मज्योती समेतलाई पक्राउ गर्न अनुमति पाएको हो ।
Categorized in राष्ट्रिय