रुसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १२, बिहिबार
रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान टेलिभिजन सम्बोधन गर्दै युक्रेनमाथि आक्रमणको घोषणा गर्नुभएको हो ।
त्यस लगत्तै रुसी सेनाले पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा बमबारी शुरु गरेको छ । साथै दुई दिन अघि स्वतन्त्र राष्ट्रको मान्यता दिएका दुई वटा प्रान्तमा पनि युक्रेनी सेना विरुद्ध आक्रमण गरिएको छ । उता, युक्रेनको राजधानी किभमा पनि मिसाइल र क्रुज क्षेप्यास्त्रबाट आक्रमण गरिएको छ ।
सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर घर फर्किन सुझाव दिनुभयो । कुनै पनि प्रकारको युद्ध भएमा त्यसको जिम्मेवार युक्रेन हुने भन्दै उहाँले युक्रेनी सेनालाई आत्मसमर्पणका लागि आग्रह गर्नुभएको हो ।
पुटिनले युद्धको घोषणा गर्दै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भने पुटिनलाई युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नुभएको छ । सुरक्षा परिषदको बैठकमा उहाँले शान्तिको बाटोलाई मौका दिन आग्रह गर्नुभएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणबाट हुने मानवीय क्षतिको जिम्मवार रुस हुने भन्दै अमेरिकी गठबन्धनले एकीकृत जवाफ दिने प्रतिक्रिया दिनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय