arin enterprises

सम्पदाको नाममा राजनीति भएको मेयर शाक्यको दावी

SamacharDesk – विकाश | २०७६ मङ्सिर ९, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदाको नाममा यहाँ दलगत राजनीति मात्र भइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले पक्ष विपक्षको नाममा दलगत पूर्वाग्रह राखेर विरोध मात्र भइरहँदा काठमाडौंको विकासका योजनाहरु प्रभावित भएको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूको नव निर्वाचित केन्द्रीय कार्यसमितिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर शाक्यले आफु पनि खुल्ला टुँडिखेलकै पक्षमा रहेको बताउँदै अकुपाई टुँडिखेलको नाममा भ्रम छर्ने काम भएको बताउनुभयो । 

आफै रक्षामन्त्री रहँदा सेनाको पुस्तकालय भवन बन्दा चुप लाग्ने नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले मेयरले टुँडिखेल बेच्यो भनी आरोप लगाउँदा आफु अचम्भित भएको शाक्यको भनाई थियो ।

निर्माण सामग्री बाटोमा थुपारिए बटुवालाई सास्ती हुने भएकोले दरवार हाइ स्कूल र बीर अस्पतालको निर्माण सम्पन्न हुन लागेको अवस्थामा अब त्यहाँको सामग्री पनि हट्ने जानकारी शाक्यले दिनुभयो ।

रानीपोखरी पुनर्निर्माणको काम अगाडी बढाउन खोज्दा त्यहाँ पनि आफ्नो भनाईलाई बङ्ग्याएर भ्रम छरेर विरोध गर्ने काम भएको शाक्यको भनाई थियो ।

‘मैले रानीपोखरीमा शौचालय बनाउने भनेको हो तर भित्रै बनाउँछु त भनेको थिइन । मेयरले रानीपोखरी भित्रै शौचालय बनाउन लागे भनेर आम नागरिकलाई भ्रमित गर्ने काम भयो’ शाक्यले गुनासो पोखे ।

दलको लागि काम गर्ने हो भने दलीय कार्यकर्ता बन्ने हो, पत्रकार होइन

केही सिमित समूहले आफ्नो विरोध गर्ने मिसन नै लिएको जस्तो देखिएको भन्दै मेयर शाक्यले भने, ‘दरवार स्कूलको पुनर्निर्माणमा पनि डण्डिको प्रयोग भयो, ढलान गरियो तर त्यहाँ त विरोध भएन । कामपाले गर्ने काममा मात्रै भएका नभएका कुरा गरी किन विरोध गरिन्छ ?’

कार्यक्रममा उपस्थित पत्रकार दबू केन्द्रीय कार्य समितिलाई निष्पक्ष र सन्तुलित ढङ्गले कलम चलाउन आग्रह गर्दै मेयर शाक्यले केही पत्रकारहरु समेत आफुलाई असफल बनाउन लागेको दावी पनि गर्नुभयो ।

‘दलको लागि होइन, आम नागरिकलाई सुसूचित गर्नको लागि कलम चलाउनु, सरकारलाई सचेत गर्नका लागि चलाउनु । दलको लागि काम गर्ने हो भने दलीय कार्यकर्ता बन्ने हो, पत्रकार होइन ।’ मेयर शाक्यको भनाई थियो ।

काम गर्दा अवरोध आएकोलाई स्वाभाविक नै ठानेको भन्दै मेयर शाक्यले काठमाडौंको विकास गर्न आफु सबै अवरोध पन्छाउँदै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082