arin enterprises

पत्रकार दबूको कोषको लागि मन्त्री श्रेष्ठबाट सहयोग

SamacharDesk – बिकाश | २०७८ आषाढ ३, बिहिबार

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पत्रकारलगायत सम्पूर्ण नेपाली जनतालाई महामारीबाट बचाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूको कोभिड रेस्पोन्स टिमसँगको भेटवार्ता गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

‘सम्पूर्ण नेपाली जनतालाई  महामारीबाट बचाउन सरकार लागिरहेको छ, त्यसमा पनि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत पत्रकारलाई पनि संक्रमणबाट बच्न र बचाउन सरकारले सक्दो सहयोग गर्नेछ’ श्रेष्ठले भन्नुभयो ।

सो अवसरमा मन्त्री श्रेष्ठले पत्रकार दबूको कोभिड रेस्पोन्स कोषको लागि एक लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । बुधबार मन्त्री श्रेष्ठले पुल्चोक हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई रकम हस्तान्तरण गरे ।

कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार दबूले कोरोना रेस्पोन्स टिम गठन गरेको छ । समूहबाट नेवाः पत्रकारलाई महामारीको अवस्थामा पर्न सक्ने समस्यामा सहयोग गर्न कोष बनाएर रकम जुटाउने कार्य भइरहेको छ ।

कोषमा पीडित पत्रकारको सहयोगमा टेवा पुगोस भनेर आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको मन्त्री श्रेष्ठले बताए ।

सो अवसरमा पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दबूले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउने अभियानमा अघि सारेका योजना र कार्यक्रमबारे जानकारी दिए ।

दबूका कोषाध्यक्ष एवं समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाले थुप्रै सञ्चारकर्मीहरु बेरोजगार बनेको, समयमै पारिश्रमिक नपाएको, साना तथा स्वरोजगार मिडिया संकटमा परेको, पत्रकार र तिनका परिवार संक्रमित भएकोलगायत अनेक समस्यामा फसेको जानकारी गराए ।

हालसम्मसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले बताए ।

Categorized in समाज