उडिरहेको जहाजमा एक यात्रुले ढोका खोल्दा १२ जना घाइते
SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ १४, आइतबार

घाइते दक्षिण कोरियामा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोल्दा १२ जना यात्रु घाइते भएका छन् ।
शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन एक्जिट ढोका खोलेपछि जहाजभित्र हावा पस्दा विमानमा सवार १२ जना घाइते भएका हो ।
तर, जहाजलाई चालकदलले सकुशल अवतरण गरेका थिए । एसियाना एयरलाइन्सको एयरबस ए३२१ विमानमा सवार एक व्यक्तिले उक्त आपतकालीन ढोका आंशिक रुपमा खोलेका थिए ।
जहाजमा सवार अन्य यात्रुले रोक्दा ढोका पूर्ण रुपमा खुल्न पाएन । यसले गर्दा सम्भावित घटना हुनबाट बचेको थियो ।
ती व्यक्तिलाई हवाई सुरक्षा कानून उल्लंघन गरेको आरोपमा विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।
१ सय ९४ जना यात्रु लिएर दक्षिणी टापु जेजुबाट दक्षिणपूर्वी सहर डेगुतर्फ गइरहेको उक्त विमान ७ सय फिट को उचाइमा डेगु एयरपोर्ट पुग्नै लाग्दा यो घटना भएको थियो ।
उक्त व्यक्तिको पहिचान भने खुलाइएको छैन । कानूनतः यात्रुहरूले आपतकालीन ढोका चलाउन तथा हवाइजहाजमा चढिसकेपछि कुनै पनि प्रकारको उपकरण प्रयोग गर्न पाउँदैनन् ।
यस्तो अवस्थामा कोरियाको कानून अनुसार दोषी यात्रुलाई १० वर्षसम्म जेल सजाय हुने नीति रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय