ताम्राकार, शाक्य र तुलाधर दान्यहिरा सिरपाःबाट सम्मानित
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८३ कार्तिक १९, बुधबार
वागमती प्रदेशका मुख्यमन्त्री किरण कुमार थापा मगरले नेपालभाषा र नेवार समुदायको कला, संस्कृति देशको पहिचान भएको विचार राख्दै यसको संरक्षणको लागि प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।
नेपालभाषा एकेडेमिबाट मंगलवार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले एकेडेमिबाट नेपालभाषाको अध्ययन अनुसन्धान र अभिलेखीकरण लगायतका क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै आवश्यकताको आधारमा सहकार्य गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता जनाए ।
‘हिजोको दिनमा नेवाःहरुको राज्य भएको यो काठमाडौं उपत्यका, यहाँको भाषा, कला, साहित्यको संरक्षण सम्वर्ध्दन गर्नको लागि नेपालभाषा एकेडेमिको ठुलो योगदान छ । प्रदेश सरकारले गर्नुपर्ने कुरामा समन्वय र सहकार्य गरेर आवश्यकताको आधारमा बजेट पनि विनियोजन गरेर अघि बढन् प्रतिवध्दता यहाँ व्यक्त गर्न चाहन्छु ।’ मुख्यमन्त्री मगरले भने ।
कार्यक्रममा एकेदेमिका चान्सलर मल्ल के. सुन्दरले एकेडेमीको स्थापनाकालदेखिका संघर्षको बारेमा जानकारी गराउँदै भावी योजनाहरुको बारे प्रकाश पारे ।
कार्यक्रममा साहित्य, संगीत र विज्ञान प्रविधि क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै तीन जनालाई दान्यहिरा सिरपाः (पुरस्कार) बाट सम्मान गरिएको थियो ।
साहित्य क्षेत्रतर्फ समालोचक पूर्णकाजी ताम्राकारलाई सम्मान गरिएको थियो । त्यस्तै संगीत क्षेत्रतर्फ चर्चित गायक प्रवेशमान शाक्यलाई पुरस्कार प्रदान गरियो भने विज्ञान प्रविधितर्फ एलेन बैलोचन तुलाधर सम्मानित भए ।
सम्मानित तीनै जना व्यक्तित्वहरुलाई एकेडेमिका चान्सलर मल्लले दोसल्ला ओढाए भने बागमति प्रदेशका मुख्यमन्त्री मगरले सम्मान पत्र प्रदान गरे ।
नगद पुरस्कार एकेडेमिका संरक्षक यज्ञरत्न धाख्वाःले प्रदान गरे । नगद पुरस्कारको राशी जनही ५०/५० हजार रुपैयाँ रहेको छ ।
एकेडेमिका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले कार्यक्रममा सिरपाःबाट सम्मानित व्यक्तित्वहरुको बारे जानकारी गराए भने सदस्य सचिव महेन्द्रगोपाल कर्माचार्यले एकेडेमिले गर्र्दै आएका कार्यक्रमहरु र गतिविधिबारे प्रकाश पारेका थिए ।
सम्मानित व्यक्तित्वमा समालोचक ताम्राकार र तुलाधरले आआफ्ना विचार राखे भने गायक शाक्यले आफ्ना चर्चित गीत बहार बनीलगायत तीनवटा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायक वीर प्रसाद भन्सारी, गायक गुज्ये मालाकार, गायिका रफेला महर्जन र गायिका रिता महर्जनले गीत प्रस्तुत गरेका थिए ।
एकेडेमिले वर्षेनी साहित्य, संगीत र विज्ञान प्रविधि क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई दान्यहिरा सिरपाःबाट सम्मान गर्दै आएको छ । नेवाः समुदायमा यस पुरस्कारलाई प्रतिष्ठित पुरस्कारको रुपमा लिने गरिएको छ ।
Categorized in समाज




