झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण १४, बिहिबार

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा २ जना बीरगंजबाट पक्राउ परेका छन् ।
प्रहरीले बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारतकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेललाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सिताले धुरुप प्रसाद पटेलको छोरी कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ ।
सीताको साथबाट २०७० पुस ११ गते जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको उक्त नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि बरामद भएको छ ।
प्रहरीले सिता र नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने धुरुप प्रसादलाई समेत पक्राउ गरेको हो ।
उनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Categorized in अपराध