खोप खरिदका लागि विश्व बैंकसँग २ अर्ब बराबरको ऋण सम्झौता
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १३, शुक्रबार

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएकोछ ।
शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो ऋण नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
कार्यक्रममा अर्थ सचिव मरासिनीले यो ऋण सहायताले विशेषगरी बालबालिकामा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने बताउनुभयो ।
त्यस्तै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्वपूर्ण हुने बताउनुभयो ।
Categorized in राष्ट्रिय