थ्री स्टारको भवनका लागि वडा १६ बाट २५ लाख
SamacharDesk – बिराज | २०७८ श्रावण १९, मंगलबार

नेपाली फुटबल जगतमा चर्चित थ्री स्टार क्लबको भवन निर्माणका लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ ।
यसै क्रममा सो रकमको पहिलो किस्तास्वरुप क्लबलाई वडाबाट ९ लाख रुपैयाँ प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा वडाअध्यक्ष शाक्यले मुलुकको खेलकुद विकासमा क्लबको योगदान महत्वपूर्ण रहेपनि स्रोत साधनको अभावले हालसम्म क्लब भवन बन्न नसकेको स्थितिलाई मध्यनजर गरी सो रकम प्रदान गरिएको बताउनुभयो ।
गत आर्थिक वर्षको बजेटबाट सो रकम प्रदान गरिएको बताउँदै निर्माण कार्य शुरु गरिएपछि बाँकी ४० प्रतिशत रकम प्रदान गर्ने पनि वडाअध्यक्ष शाक्यले बताउनुभयो ।
मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो ।
रकमका कारण भवन निर्माण कार्य रोक्न नहुने भन्दै वडाअध्यक्ष शाक्यले भवनको लागि चालू आर्थिक वर्षमा थप १० लाख रुपैयाँ विनियोजित गरेको बताउनुभयो ।
Categorized in पेजथ्री