arin enterprises

ललितपुरमा जेठ ६ देखि दोश्रो मात्राको खोप दिइने

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ३, सोमबार

ललितपुर महानगरपालिकामा आउँदो जेठ ६ गतेबाट कोरोनाविरुद्ध दोश्रो चरणको को भेरोसिल खोप दिन लागिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको सूचना अनुसार ६ गते शुरु हुने खोप कार्यक्रम १३ गतेसम्म जारी रहनेछ ।

महानगरपालिकाले २९ वटा वडाका लागि २९ वटै अलग अलग खोप केन्द्रहरु तोकिदिएको छ ।

दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत दोश्रो मात्राको खोप मात्र दिइने तर पहिलो मात्राको खोप भने नदिइने जनाइएको छ ।

त्यसैगरी खोप लिने व्यक्तिले पहिलो मात्राको खोप लिएको कार्डको साथमा फोटोसहितको परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।

पहिलो खोप लिएको मितिको आधारमा दोश्रो खोप लिने दिन तोकिएको छ । जनअनुसार २०७७ चैत्र २५ देखि २८ गतेसम्ममा खोप लिएका व्यक्तिले जेठ ६ गते खोप लिन पाउनेछन् ।

त्यस्तै चैत्र २९ देखि ३१ सम्ममा खोप लिएकाले जेठ ७ मा, २०७८ बैसाख १ देखि ४ सम्म खोप लिएकाले जेठ ९ मा खोप लिनुपर्नेछ ।

बैसाख ५ देखि ९ सम्मकाले जेठ १० गते, १० देखि १३ काले जेठ ११ मा, १४ गते खोप लिएकाले जेठ १२ मा र वैसाख १५ मा खोप लिनेले जेठ १३ मा खोप लिनका लागि भनिएको छ । तोकिएको दिन बाहेक अरु दिनमा खोप नदिइने पनि बताइएको छ ।

रुघाखोकी, ज्वरो, पखाला, आँखा पोल्ने, स्वाद तथा गन्ध नहुने, जीउ दुख्ने लगायतका कोभिडका लक्षण भएका व्यक्तिले यो खोप लिन मिल्नेछैन ।

कोभिड संक्रमण भइसकेका व्यक्तिले यो खोप लिन संक्रमण निको भएको ९० दिन पूरा भएको हुनुपर्नेछ ।

त्यसैगरी खोप लिन आउने व्यक्तिले निश्चित नियम पूरा गर्नुपर्नेछ । खोप लिन आउँदा मास्क अनिवार्य लगाएको हुनुपर्नेछ भने खोप लिन लाइन बस्दा कम्ती २ मिटर भौतिक दुरी कायम गर्नुपर्नेछ ।

त्यस्तै खोप केन्द्रमा प्रवेश गर्नुअघि साबुन पानीले मिचिमिचि हात धोएर ज्वरो जाँच गराउनुपर्नेछ । 

Categorized in स्थानीय