arin enterprises

भारतको भोपालस्थित अस्पतालमा आगलागी

SamacharDesk – बिराज | २०७८ कार्तिक २३, मंगलबार

भारत मध्य प्रदेशको राजधानी भोपालको एक अस्पतालमा भएको आगलागीमा चार बालबालिकाको मृत्यु भएको छ ।

भोपालस्थित कमला नेहरू चिल्ड्रेन्स अस्पतालमा सोमबार राती भएको आगलागीमा चार बालबालिकाको मृत्यु भएको हो ।

आइसीयू कक्ष रहेको अस्पतालको तेश्रो तल्लाबाट आगलागी शुरु भएको अधिकारीहरुले बताएका छन् ।

मध्यप्रदेशका स्वास्थ्य शिक्षामन्त्री विश्वास सारंगले घटनाको पुष्टि गरेका छन् । सर्ट सर्किटको कारण आगलागी भई स्पेशल न्यू बर्न केयर यूनिटमा भर्ना गरिएका चार जना बच्चाहरुको मृत्यु भएको मन्त्री सारंगले बताएका छन् ।

वार्डमा ४० शिशुहरु रहेको र तीमध्ये ३६ जना सुरक्षित रहेको बताइएको छ । घटना पछि वार्डमा रहेका शिशुहरुलाई अर्को वार्डमा सारिएको छ ।

घटनामा मृत्यु भएका शिशुहरुको परिवारलाई ४–४ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रदेश मुख्यमंत्री शिवराज सिंह चौहानले घटनाप्रति दुःख जनाउँदै घटनाको जाँचको आदेश दिएका छन ।

राज्यका पूर्व मुख्यमन्त्री र विपक्षी दलका नेता कमलनाथले निकै दुखदायी घटना भएको भन्दै दोषीलाई कडा कारवाही गरिनुपर्ने माग राखेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय