१ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद
SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

ललितपुरको ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको छ ।
ताल्छिखेलकै डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले सुन किन्ने बहानामा नक्कली नोट दिई फरार भएका थिए ।
५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएपछि रिजालले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले उक्त नोटहरु बरामद गरेको हो ।
बरामद भएको नोटको ५ वटा गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट राखेको फेला परेको छ ।
प्रत्यक्षदर्शीले बताएको हुलियाको आधारमा फरार व्यक्तिहरुको खोजी शुरु भइसकेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध