arin enterprises

न्यू जेनिथ अन्तरविद्यालय फुटसल बास्केटबल प्रतियोगीता सम्पन्न

SamacharDesk – बिराज | २०८३ आश्विन ६, मंगलबार

न्यू जेनिथ इङ्गलिस मोडल स्कूलबाट आयोजित अन्तरविद्यालय फुटसल प्रतियोगीताको उपाधी RIBS स्कूलले जितेको छ ।

न्यू जेनिथ अन्तरविद्यालय फुटसल तथा बास्केटबल प्रतियोगीताको चौथो संस्करणको आइतबार सम्पन्न फाइनल खेलमा मोर्डन इन्डियन स्कूललाई हराउँदै चन्द्रागिरि नगरपालिकास्थित RIBS ले अन्डर १६ ब्वाइजतर्फको प्रतियोगीताको उपाधी जितेको हो ।

त्यस्तै अन्डर १६ गर्ल्सतर्फको उपाधी आयोजक न्यू जेनिथलाई हराउँदै प्याराडाइज रिडर्सले जितेको छ । अन्डर १३ ब्वाइजतर्फ निसर्ग बाटिकालाई पछि पार्दै ए.आई. स्कूलले जितेको छ ।

अन्डर ११ को फुटसल प्रतियोगीताको उपाधी आयोजक न्यू जेनिथले जित्दा मोडर्न इन्डियन स्कूलले उप विजेतामा चित्त बुझाउनु पर्यो ।

बास्केटबल प्रतियोगीतातर्फ ब्वाइजतर्फ पुष्पसदनलाई हराउँदै ब्राइट हराइजनले जितेको छ भने गर्ल्सतर्फ रेडियन्ट पब्लिक स्कूललाई हराउँदै RIBS ले जितेको छ ।

अन्डर १६ तर्फ हाइएस्ट स्कोररको पुरस्कार RIBS का रिसन लामाले हात पारे भने बेस्ट प्लेयरको पुरस्कार मोडर्न इन्डियन स्कूलका अर्सेनियो राजभन्डारीले र बेस्ट किपरको पुरस्कार RIBS का आयुष केसीले जितेका छन् ।

अन्डर १३ तर्फ हाइएस्ट स्कोररको साथै बेस्ट प्लेयरको पुरस्कार समेत ए.आई. का दीप सागरले जिते भने बेस्ट किपर ए.आई.कै रुद्र बहादुरले हात पारे ।

अन्डर ११ तर्फ ए.आई.का सायाङ लामा हाइएस्ट स्कोरर बन्दा न्यू जेनिथका सुयोग श्रेष्ठ र बेस्ट किपर न्यू जेनिथकै प्रनिश बर्देवा बन्न सफल भए । गर्ल्सतर्फ प्याराडाइजकी आराध्य श्रेष्ठ हाइएस्ट स्कोरर बन्न सफल भइन् ।

त्यस्तै न्यू जेनिथकी कृष्णा पाण्डे बेस्ट प्लेयर र प्याराडाइजकी विद्या तामाङ बेस्ट किपर बन्न सफल भइन् ।

बास्केटबलतर्फ ब्वाइजमा पुष्पसदनका मातृका बुढाथोकी र गर्ल्सतर्फ प्रितिका रसाइली हाइएस्ट स्कोरर बनिन् । मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार ब्वाइजतर्फ ब्राइट हराइजनका सन्देश महतारा र गर्ल्सतर्फ RIBS का सुप्रिया मल्ले जितिन् ।

आइतबार न्यू जेनिथ स्कूलमै परिसरमै आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष न्हुछेँकाजी महर्जनले विजयी स्कूल र खेलाडीहरुलाई कप र पुरस्कार वितरण गरे ।

कार्यक्रममा नेपाल महिला बास्केटबल प्रतिक्षक विकास शाही, नेपाल महिला फुटसल प्रशिक्षक विक्रम महर्जन लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बोल्दै न्यू जेनिथका प्रिन्सिपल राजु महर्जनले विद्यार्थीहरुको शैीक्षक साथै समग्र व्यक्तित्व विकासका लागि विभिन्न प्रतियोगीताहरुको साथै विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने विभिन्न क्रियाकलापहरु निरन्तर गर्दै आएको बताए ।

Categorized in स्पाेर्ट्स